काठमाडौं, भदौ १७ । प्रधानमन्त्री बालेन शाहले रसुवामा हालै आएको बाढीबाट उत्पन्न विपद्को अवस्था, उद्धार तथा राहतका विषयमा प्रतिनिधिसभालाई जानकारी गराउने भएका छन्।
प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले रसुवा बाढीका कारण भएको जनधनको क्षति, प्रभावित क्षेत्रको वर्तमान अवस्था तथा सरकारले अघि बढाइरहेको उद्धार, राहत र पुनःस्थापनासम्बन्धी कामबारे सांसदहरूलाई जानकारी गराउने कार्यक्रम तय भएको हो।
सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार प्रधानमन्त्रीले बैठकमा रसुवाको बाढीपहिरोबाट सिर्जित परिस्थितिबारे सरकारको धारणा र पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्नेछन्। प्राकृतिक विपद्पछि सरकारका तर्फबाट भएका प्रारम्भिक उद्धार तथा राहत प्रयास, प्रभावित नागरिकको व्यवस्थापन र आगामी कार्ययोजनाबारे पनि प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउने अपेक्षा गरिएको छ।
