पोखरा । भोटेकोशी बाढीले बगाएर ल्याइएका शवमध्ये पोखरामा राखिएको एक शवमा तीन परिवारले आफ्नो आफन्त भएको दाबी गरेका छन्। शवको फोटो हेरेर तीन परिवारले दाबी गरे पनि हालसम्म पहिचान हुन सकेको छैन। डीएनए परीक्षणपछि मात्र वास्तविक पहिचान खुल्ने प्रहरीले जनाएको छ।
विभिन्न जिल्लाबाट संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ शवमध्ये ४६ वटाको पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम भएका शवमध्ये १० वटा पहिचान भएर आफन्तले बुझिसकेका छन्।
शवको पहिचान कपडा, गहना, ट्याटु, फिंगरप्रिन्ट तथा अन्य शारीरिक संकेतबाट गर्ने प्रयास भइरहेको छ। तर धेरै शव क्षतविक्षत अवस्थामा रहेकाले बायोमेट्रिक पहिचान चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ। पोस्टमार्टमकै क्रममा शवको डीएनए नमुना संकलन गरिएको छ।
कास्की प्रहरीका अनुसार पहिचान हुन नसकेका शव व्यवस्थापन गर्ने तयारी गरिएको छ। डीएनए परीक्षणको रिपोर्ट आएपछि पहिचान भएका शव आफन्तलाई बुझाइनेछ। शव पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हजारभन्दा बढी आफन्त भेला भएका छन्।

