काठमाडौँ, भदौ १५ । भोटेकोशी बाढी तथा पहिरोमा परी हालसम्म ८२३ शव फेला परेका छन् । तीमध्ये ३२ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ। अधिकांश शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भएको बताइएको छ।
सनाखतमा ढिलाइ भएपछि शव व्यवस्थापनका लागि सरकारले डिएनए र औँठाछाप संकलन गरी एयरटाइट प्लास्टिकमा प्याक गरेर जमिनमुनि राख्न थालेको छ । आइतबारसम्म २२८ शव यसरी गाडिएको गृह मन्त्रालयले जनाएको छ। सनाखतका लागि सहयोग गर्न भारतीय फरेन्सिक टोलीसमेत नेपाल आएको छ।
बाढीबाट प्रभावित नुवाकोट–रसुवा सीमाक्षेत्रको बेत्रावतीमा खोज तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। बाढीले सयौँ घर तथा सवारीसाधन बगाउँदा क्षेत्रमा दुर्गन्ध फैलिन थालेको स्थानीयले बताएका छन्।
यसैबीच, बाढीपीडित क्षेत्रमा चोरी तथा लुटपाटका घटना बढ्न थालेका छन्। उद्धार र राहतमा सुरक्षाकर्मी केन्द्रित हुँदा क्षतिग्रस्त घरमा अनधिकृत प्रवेश तथा चोरीका उजुरी बढेको प्रहरीले जनाएको छ।
