काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १२ गते दिउँसो ३ बजेसम्म सबैभन्दा धेरै चितवनमा २२१ शव फेला परेका छन्। नवलपरासी पूर्वमा १३४, गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ।
बाढीमा ७३ जना घाइते भएका छन् भने ९ सय ७७ जना अझै सम्पर्कविहीन छन्। बेपत्तामध्ये ५१७ जना विदेशी नागरिक र विदेशमा बस्ने १२७ नेपाली रहेका छन्। सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत बेपत्ता भएका छन्।
उद्धार तथा खोजी कार्यमा १४ हजार ८ सय २९ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म २५ विदेशी नागरिकसहित ३ हजार ७ सय ४२ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना र निजी कम्पनीका ७८ हवाई उडान भएका छन्।
सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा खाद्यान्न, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायत राहत सामग्री र सञ्चार उपकरण पठाइएको छ। नुवाकोटमा उद्धार तथा राहतका लागि पर्याप्त पेट्रोल, डिजेल र हवाई इन्धनसमेत मौज्दात राखिएको प्राधिकरणले जनाएको छ।