काठमाडौँ, १२ भदौ । चीनको तिब्बतस्थित छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएपछि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।
प्रजिअ परियारका अनुसार ताल फुटेको जानकारी आएलगत्तै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सर्कुलर गरिएको छ। चीनको तिब्बतबाट बग्ने छोचेन र पुरेपु नदी नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिन्छन् ।
बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । थप पानी जम्मा हुने र बाँध फुट्न सक्ने जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्था निगरानी गरिरहेको थियो ।
पहिरोका कारण बनेको तालमा जम्मा भएको पानी र लेदो बग्न थालेपछि सीमावर्ती क्षेत्रमा थप बाढीको जोखिम बढेको जनाइएको छ। नेपालतर्फ पनि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

