काठमाडौं– चीनको तिब्बतमा हिमपहिरो तथा हिमनदी पतनपछि भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले नेपालको उत्तरी सीमा क्षेत्र र तल्लो तटीय करिडोरका पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक अनुमानअनुसार पूर्वाधार क्षेत्रमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ।
बाढीले रसुवा, नुवाकोट र धादिङका दर्जनौँ पुल तथा सडकमा क्षति पुर्याएको छ। रसुवागढी–बेत्रावती सडकखण्डसहित करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। सडक सञ्चालनका लागि सरकारी तथा निजी क्षेत्रका २० वटा उपकरण परिचालन गरिएको छ र बेलिब्रिज जडानको तयारी भइरहेको छ।
बाढीका कारण भोटेकोसी र त्रिशूली करिडोरका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। नुवाकोटस्थित २२० केभी त्रिशूली–३बी हब सबस्टेसनसहित विभिन्न प्रसारण लाइनमा समेत गम्भीर क्षति पुगेको छ।
रसुवागढी भन्सार तथा सुख्खा बन्दरगाहका संरचना पनि ध्वस्त भएका छन्। टिमुरे र बेत्रावती क्षेत्रमा राखिएका करिब १०० मालवाहक कन्टेनर तथा २०० विद्युतीय सवारीसाधन बाढीले बगाएको जनाइएको छ।
त्यस्तै, रसुवा, नुवाकोट र धादिङका दूरसञ्चार पूर्वाधारमा पनि क्षति पुगेको छ। प्रभावित १५२ सञ्चार साइटमध्ये ६० वटा अझै सञ्चालनमा आउन नसकेको जनाइएको छ। सरकारले सडक, पुल, विद्युत् र सञ्चार पूर्वाधार पुनःस्थापना तथा अत्यावश्यक सेवा सञ्चालनलाई प्राथमिकता दिएको छ।