काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले रसुवा बाढीबाट भएको क्षतिको सन्दर्भमा सरकारले पाइलट प्रोजेक्ट बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०८३ भदौ ११ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै अप्फाले सो धारणा व्यक्त गरेको हो ।
वक्तव्यमा घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
प्रकृतिमैत्री विकासले मात्रै मानव समाजको सन्तुलित विकास हुन सक्ने बताउँदै अप्फाले यस विषयमा वैज्ञानिक र सरोकारवाला पक्षले ध्यान दिनुपर्ने बताएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“२०८३ भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी तथा विनाशक बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली, नारायणीतटीय क्षेत्रमा पुर्याएको ठुलो मानवीय र भौतिक क्षतिप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) अत्यन्त शोकमग्नसहित दु:ख प्रकट गर्दछ । यो वक्तव्य जारी गर्दासम्म १७० जनाको मृत्यु भएको, ८२६ जना बेपत्ता भएको, सैकडौँ घाइते भएको समाचारले हामी सबै दुखित र भावविह्वल भएका छौँ । हामी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्तजनप्रति समवेदना प्रकट गर्दछौँ ।
यस बाढीले त्यस क्षेत्रका सम्पूर्ण जनसमुदायका साथै मजदुर, गरिब किसान, सीमित आय भएका बहुसङ्ख्यक जनतालाई उठीवास बनाएको छ । उनीहरूलाई तात्कालिक राहत र दीर्घकालीन रोजीरोटी तथा बसोवासको टड्कारो आवश्यकता छ । स्कुल, स्वास्थ्यचौकी, सरकारी कार्यालय, विद्युत्गृह र वित्तीय संस्थाका भौतिक संरचना सबै बाढीले बगाइदिएको छ । यसका लागि नेपाल सरकारले तात्कालिक र दीर्घकालनि गुरुयोजना (पाइलट प्रोजेक्ट) तयार गरी तुरुन्तै कार्यान्वयन गर्न जोडदार माग गर्दछ ।
अप्फाअन्तर्गतका सम्पूर्ण वस्तुगत सङ्गठनहरू यस प्राकृतिक प्रकोपबाट पीडित भएका जनताको राहतकार्यमा जुट्नसमेत आह्वान गर्दछ । प्रकृतिको विरुद्धमा मानव समाज कुनै पनि हालतमा जान सक्दैन भन्ने कुरा हामी भुक्तभोगी छौँ । मानव समाज आवश्यकताको नाममा प्रकृतिमैत्री विकासनीति नअपनाएर प्रकृति विरोधी विकासनीति अपनाउँदा फेरि पनि यस प्रकारको महाप्रलय आउने कुरा निश्चित छ । त्यसैले मानव समाजको विकासका लागि प्रकृतिमैत्री विकासनीति नै अपनाउनुपर्ने कुरामा स्पष्ट हुनुपर्दछ । वैज्ञानिक र सामाजिक सम्बन्ध सरोकार राख्नेहरू सबैले यस विषयमा गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता छ ।”

