काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले रसुवा बाढीको सन्दर्भमा तत्कालै उद्धार र राहतकार्यमा जोड दिन सरकारसित आग्रह गरेको छ ।
अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८३ भदौ १० गते बुधबार प्रेसवक्तव्य जारी गर्दै समाजले सरकारसित सो आग्रह गरेको हो ।
वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र उपचार तथा बेघरबारको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको छ ।
जलवायु परिवर्तनका कारण अकल्पनीय प्राकृतिक बिपत्ति आउने गरेको सन्दर्भ प्रस्तुत गर्दै वक्तव्यमा त्यसका विरुद्ध नेपाल र विश्वभरिका सरकार र आम जनता मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“२०८३ भदौ १० गते बिहान रुसुवाको भेटेकोशी नदीमा आएको बाढीले नुवाकोट, धादिङ, गोरखा र चितवनको नदीकिनारमा ठुलो प्राकृतिक बिपत्ति निम्त्याएको छ । तिब्बतबाट आएको उक्त बाढीले चीनमा जनधनको क्षति पुर्याइसकेको थाहा हुन्छ । यता, नेपालतर्फ पनि त्यसले अकल्पनीय क्षति पुर्याएको छ ।
बाढीबाट ठुलो सङ्ख्यामा मानिसको मृत्यु भएको छ । नदीकिनारका थुप्रै सहरबजार तनसनहस भएका छन् । थुप्रै भौतिक संरचना ध्वस्त भएका छन् । मानिसको शव सङ्कलन गर्न कठिनाइ भइरहेको छ । त्यस्तै घाइतेको तदारुकताका साथ उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ । बाढीप्रभावित क्षेत्र प्राकृतिक रूपले बिपदग्र्रस्त क्षेत्र बन्न पुगेको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाज यस प्राकृतिक बिपत्तिप्रति गहिरो दु:ख व्यक्त गर्दछ । तत्कालै राहत तथा उद्धारका कार्यलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । हामी ज्ञातअज्ञात मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ । सरकारद्वारा घाइतेको शीघ्र उपचारमा ध्यान दिन आवश्यक ठान्दछौँ । एवम् प्रकारले बेघरबार परिवारको व्यवस्थापनमा ध्यान दिन हामी आग्रह गर्दछौँ ।
पछिल्लो समयमा जलवायु परिवर्तनका कारणले मानवजातिसहित सम्पूर्ण प्राणी जगत्ले अकल्पनीय क्षति बेहोर्नु परिरहेको छ । जलवायु परिवर्तनकै कारण अनियमित वर्षा, खडेरी, भूस्खलन, बाढीजस्ता प्राकृतिक प्रकोप देखा परिरहेका छन् । यस्ता क्षतिलाई न्युनीकरण गर्न विश्वका मानव समुदाय मिलेर प्रकृतिलाई प्राकृतिक रूपमा यथावत राख्न योजनाबद्ध प्रयास गर्नुपर्ने हुन्छ । यसतर्फ नेपाल र विश्वभरिका जनता र सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ ।”

