काठमाडौँ । तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा ठुलो बाढी आउँदा अकल्पनीय क्षति भएको छ । २०८३ भदौ १० गते बुधबार बिहान करिब ९ बजे एक्कासि बाढी आएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठुलो बाढी आएको जानकारी आफूले पाएको बताए ।
‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठुलो बाढी आएको भन्ने जानकारी पाएको छु’ परियारले भने– ‘के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’
बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।
रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँको नागढुङ्गादेखि चितवन भरतपुरसम्मको सडक पूर्णत: बन्द गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए ।
बाढीले धादिङ जिल्लाअन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र उक्त क्रम फैलिने अवस्था भएका कारण दुवैतर्फबाट सवारी आवागमन निषेध गरिएको उनले बताए । बाढीले दर्जनौँ बस्ती र बजार बगाएको छ ।
तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौँबाट बिपद व्यवस्थापनको प्रहरी टोली त्यसतर्फ गइसकेको उनले बताए ।
बाढीका कारण रसुवा जिल्लाको प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ प्रहरी सम्पर्कमा छैनन् । टिमुरेबाट पाँच जना प्रहरी सम्पर्कमा आएको उनले बताए । स्याफ्रुबेँसीमा नौ जनासहित रसुवागढी र मैलुङका प्रहरी पनि सम्पर्कमा नआएको उनले बताए ।
बाढीले प्रहरी कार्यालयमात्रै बगायो कि कर्मचारी पनि प्रभावित छन् भन्ने यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए ।
हालको केन्द्रविन्दु रसुवा
डिएसपी अशोक थापाले गत वर्षको भन्दा कम्तीमा १० गुणा ठुलो विनाशकारी बाढी आएको बताए ।
उनले जनधनको ठुलो क्षति भएको प्रारम्भिक अनुमान गरेका छन् । जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौँ बस्तीका साथै बजारहरु बगाएको उनले बताए । तटीय क्षेत्रमा रहेका सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सम्पर्कमा आएका छैनन् ।
बाढीले रसुवाको तल्लो तटीय क्षेत्रमा समस्या भएको बताइएको छ ।
रसुवाका पत्रकार हेमनाथ खतिवडाले स्याफ्रुबेसी किनाराका बस्तीहरूमा बाढी पसेर क्षति पुगेको बताए । तिब्बत क्षेत्रमा बाढी आएको विषय त्यहाँको प्रशासनले बिहानै रसुवा प्रहरी प्रशासनलाई खबर गरेको उनले बताए ।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पहिरे बेँसी, खाल्टे, बेत्रावतीलगायत नुवाकोटका बस्ती पनि जोखिममा परेको छ ।
चितवनसम्म सतर्कता
भीषण बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै तत्काल सतर्कता अपनाउन बाढी सतर्कता केन्द्रले जनाएको छ ।
बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित त्यस क्षेत्रका करिडोर सडक बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ ।
बाढीले रसुवा र नुवाकोटको तटीय क्षेत्रमा ठुलो क्षति पुगेको जनाएको छ । यो क्षतिको सघन असर मुग्लिङसम्म पर्ने जनाएको छ । त्रिसुली नदी जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

