काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीमा वर्षाका कारण साढे २ तले घर भासिएको छ।
Advertisement
महानगरपालिकाका अनुसार बिहीबार बेलुकी करिब ८ बजे बाँसबारीस्थित उक्त घर भासिएको हो। वर्षाका कारण जमिन कमजोर भएपछि घर भासिएको प्रारम्भिक जानकारी प्राप्त भएको महानगरले जनाएको छ।
भासिएको घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो। घटना हुँदा घरमा कोही पनि नरहेकाले मानवीय क्षति भने नभएको महानगरपालिकाले जनाएको छ।
घर भासिएपछि आसपासको क्षेत्रमा समेत आवश्यक सुरक्षा सतर्कता अपनाइएको छ। घटनाबारे थप विवरण तथा क्षतिको अवस्थाबारे सम्बन्धित निकायले निरीक्षण गरिरहेको जनाएको छ।

