भाद्र २ गते । सरुमारानी गाउँपालिका–२, रत्ने दर्भान, प्यूठान निवासी ५० वर्षीय हुमबहादुर सोमै मगर बकैना रुखबाट खसेर गम्भीर घाइते हुनुभएको छ।
उहाँलाई हाल भालुबाङ अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। घटना विवरणअनुसार आज बिहान करिब १०ः०० बजेको समयमा घरनजिकै रहेको राप्ती नदीको बगरमा करिब १२ फिट अग्लो बकैना रुखबाट खसेर उहाँ गम्भीर घाइते हुनुभएको हो।
घाइते मगरको ओठ र दायाँ घुँडामा गम्भीर चोट लागेको छ। बाख्राका लागि डालेघाँस काट्ने क्रममा उहाँ रुखबाट खस्नुभएको हो। घाइते सोमै मगरलाई उहाँकी आमा तथा भाइ–बुहारीले उद्धार गरी भालुबाङ अस्पताल ल्याएका हुन्।
भालुबाङ अस्पताल स्रोतका अनुसार उहाँलाई थप उपचारका लागि आईसीयू (इन्सेन्टिभ केयर युनिट) मा राख्नुपर्ने अवस्था रहेको छ। तर, भालुबाङ अस्पतालमा आईसीयूको सुविधा नभएका कारण अन्यत्र लैजान चिकित्सकले सल्लाह दिएका छन्।
तर, उहाँको आर्थिक अवस्था कमजोर रहेको भन्दै आमाले भालुबाङ अस्पतालमै राखेर उपचारको व्यवस्था मिलाइदिन अनुरोध गरेपछि हाल उहाँलाई वार्डमा भर्ना गरी उपचार भइरहेको अस्पतालले जनाएको छ।

