काठमाडौँ । काठमाडौँको सुकेधारास्थित ‘एजिङ होम’को आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालित शिविरमा १०५ जनाको आँखा परीक्षण गरिएको थियो।
एजिङ होमका संस्थापक राजेन्द्र सिंह नेगीले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै उमेरसँगै देखिने दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गरी उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए।
डा. मनिषा गुरुङको नेतृत्वमा सात सदस्यीय चिकित्सकीय टोलीले आँखा परीक्षण तथा परामर्श दिएको थियो। परीक्षणका क्रममा १४ जनामा मोतिबिन्दुको समस्या देखिएको छ। उनीहरूको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ। यस्तै, दृष्टिदोष भएका १६ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो।
कार्यक्रममा नेपाल आँखा अस्पतालका कार्यकारी बोर्ड सदस्य राजाराम श्रेष्ठको उपस्थिति थियो। शिविरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न योगदान पुर्याएको भन्दै कार्यक्रम संयोजक राम केसी र समाजसेवी बेबिना खड्कालाई सम्मान गरिएको थियो।
एजिङ होमले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको स्वास्थ्य तथा कल्याणका लागि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

