गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला रानाको ५७ वर्षको उमेरमा निधन भएको छ । अर्घाखाँचीको भूमिकास्थान–५ असुरकोट निवासी रानाको नयाँदिल्लीमा उपचारको क्रममा यही २०८३ साउन २९ गते निधन भएको हो ।
साउन ३० गते राति रानाको शव अर्घाखाँची ल्याइएपछि साउन ३१ गते राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको जिल्ला पार्टी कार्यालयमा पार्टीको झन्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
सकुन्तलाको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले कम्युनिस्ट पार्टीको र महिला सङ्घकी अध्यक्ष मीना पुनले महिला सङ्घको झन्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
नेकपा (मसाल) को पार्टीसदस्यसमेत रहनुभएको सकुन्तलाको सम्मान र सम्झनामा आयोजित शोकसभाको सहजीकरण राजमो अर्घाखाँचीका सचिव बाबुराम पन्थीसुनारले गर्नुभएको थियोे ।
जिल्ला पार्टी कार्यालयको कार्यक्रममा महिला सङ्घ केन्द्रीय अध्यक्ष मीना पुनले शोकमन्तव्य व्यक्त गर्नुभयो ।
सङ्क्षिप्त शोकमन्तव्यमा पुनले सकुन्तलाले नेपालको महिला मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँको निधनले आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेशका अध्यक्ष खत्री, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, राजमो केन्द्रीय सदस्य सागर केसी, राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, राजमो नेता सुरेश थापा र शेरबहादुर बिसी, महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, पद्मा अर्याल र कल्पना पोख्रेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्दबहादुर थापा, राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसी, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकाल, राष्ट्रियसभाका पूर्व सांसद चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ को उपस्थिति थियो ।
एवम् प्रकारले नेकपा (एमाले) का पदम क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहान, क्रान्तिकारी कम्युनिस्ट पार्टीका राजेन्द्र नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका सहयोगी जिसी, नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेम आचार्य, महासङ्घकै अर्घाखाँची सभापति गणेश खनालका साथै जिल्लास्थित विभिन्न राजनीतिक, सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, शुभेच्छुक, शुभचिन्तक, सकुन्तलाका परिवार, आफन्तजनलगायतको सहभागिता रहेको थियो ।

गच्छेघाटमा दाहसंस्कार
राजमो जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएपछि उहाँको पार्थिव शरीरलाई आजै सन्धिखर्कस्थित गच्छेघाट लगेर अन्तिम दाहसंस्कार गरिएको छ ।
गच्छेघाटमा आयोजित श्रद्धाञ्जली तथाको सञ्चालन राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले गर्नुभएको थियो । अन्त्येष्टिका क्रममा राजमो लुम्बिनी प्रदेशका अध्यक्ष खत्रीले पार्टीको झन्डा ओढाएर सकुन्तलाप्रति अन्तिम सम्मान व्यक्त गर्नुभएको थियो ।
घाटमा विभिन्न वक्ताहरूले सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले सकुन्तलाको असामयिक निधनप्रति दु:ख व्यक्त गर्दै समाज परिवर्तन, सामाजिक न्याय, महिला मुक्ति र वामपन्थी आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने धारणा व्यक्त गर्नुभयो ।


