इन्दिरा ज्ञवाली, राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
० राष्ट्रिय जनमोर्चाको बाइसौ केन्द्रीय पार्टीस्कुलमा भाग लिन आउनुभएका राजमो केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाको कार्यवाहक अध्यक्ष इन्दिरा ज्ञवालीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
ः धन्यवाद ।
० आरामै हुनुहुन्छ ?
ःः आरामै छु ।
० प्रशिक्षणमा सहभागी हुन आउनुभयो, होइन ?
ःः हजुर ।
० प्रशिक्षण भन्नाले कस्तो यो कार्यक्रम भयो ? राजनीतिक पार्टीको प्रशिक्षण भन्नाले के हुन्छ यसमा ?
ःः हाम्रो जुन पार्टीले नीति, कार्यक्रम लिएको छ, त्यसबारे प्रशिक्षण लिएर जिल्ला, नगर, टोल वा ग्रासस्तरमा गएर प्रचारप्रसार गर्नुपर्छ, सङ्गठनलाई व्यवस्थित गर्ने कार्यक्रम हो भन्ने लाग्दछ ।
० प्रशिक्षणमा के कस्ता विषयमा प्रशिक्षण लिनुभयो ?
ःः सङ्गठनसम्बन्धी, वर्गसङ्घर्ष, राजनीतिक विश्लेषण, यस्तै यस्तै धेरै विषयमा प्रशिक्षण्ण लिएका छौँ ।
० कुन कुन सरहरूले तपाईंहरूलाई प्रशिक्षण दिनुभयो ?
ःः नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, दुर्गानाथ खरेल, मनोज भट्ट, समीर सिंह, वासुदेव पोखरेल, दुर्गा पौडेललगायत थुप्रैले प्रशिक्षण दिनुभयो ।
० अहिलेको प्रशिक्षणमा व्यावहारिक प्रशिक्षण पनि छ भन्ने जानकारी पाएका छौँ । व्यावहारिक प्रशिक्षण भनेर कस्तो खालको प्रशिक्षण हुन्छ यसमा ?
ःः व्यावहारिक प्रशिक्षण भन्नाले सङ्गठनलाई समाजमा पुर्याउने क्रममा कस्तो खालको यो व्यवहार गर्ने ? समाजमा कस्तो खालका कुरा गर्ने ? सङ्गठनलाई त्यहाँ कसरी लैजाने समाजमा ? सङ्गठन विस्तारको लागि हामीले टोलटोलमा कसरी कुरा गर्ने ? टोल समूहमा आबद्ध भएर महिला सङ्गठन, युवक सङ्गठन, विद्यार्थी सङ्गठन, राष्ट्रिय जनमोर्चा सबैलाई जनतामाझ कसरी पुर्याउने भनेर छलफल गर्ने कार्यक्रमको रूपमा मैले बुझेको छु ।
० तपाईंहरू बिल्कुलै नयाँ त हुनुहुन्न । तपाईंहरू लामो समयदेखि राजनीतिमा हुनुहुन्छ । सङ्गठन निर्माण गर्नुभएको छ, अनि तपाईंहरूलाई पनि प्रशिक्षण दिनुपर्ने यस्तो के कारण होला ?
ःः कारणभन्दा पनि हामीले पनि सबै कुरा बुझेको हुन्नौँ, होइन ? सिद्धान्त पढेर त कहिले पनि जानिँदो रहेनछ । हामीमा केही कमीकमजोरी हुन्छन् नै । हामीले जनतालाई सही विचार दिन अझै सकेनौँ कि भनेर यो क्लास चलेको हो । त्यसैले म यसमा भाग लिन आएकी हुँ ।
० प्रशिक्षणमा जुन सरहरूले विभिन्न विषयमा क्लास दिनुभयो, त्यसबाट तपाईंले के के कुरा बुझ्नुभयो ? तपाईं के कुरामा छर्लङ्ग हुनुभयो ?
ःः म छर्लङ्ग यो कुरामा भएँ, हामीले बेलाबेलामा यस्ता क्लासप्रशिक्षण लिनुपर्छ । जिल्लामा गएर त्यहाँका साथीहरूलाई हामीले क्लास दिनुपर्छ । हामी प्रशिक्षण दिन सक्छौँ र दिनु पनि पर्छ ।
० तपाईं आफै महिला भएको कारणले यो प्रशिक्षणमा महिलासित सम्बन्धित विषयमा प्रशिक्षण भयो कि भएन ?
ःः महिलासम्बन्धी पनि प्रशिक्षण भयो । महिलाले पनि आफ्नो हकहितका लागि पनि अगाडि बढेर सङ्घर्ष गर्नुपर्छ । दासयुगमा महिलालाई दाससँगै जलाइन्थ्यो भने त्यसको विरुद्ध सङ्घर्ष गरेर महिलाहरूले पनि आफ्नो अधिकार प्राप्त गरे । हामी महिलाले हिम्मत हार्नुहुन्न, आफ्नो अधिकारको लागि अगाडि बढेर जानुपर्छ भन्ने खालको क्लास पनि पाइयो ।
० तपाईं रुपन्देही राष्ट्रिय जनमोर्चाको अध्यक्ष पनि हुनुहुन्छ । रुपन्देही भनेको त नेपालको औद्योगिक क्षेत्रमा एकदम उदाउँदो जिल्ला पनि हो । त्यो ठाउँमा महिला मात्र नभएर समग्र राष्ट्रिय जनमोर्चाको सङ्गठनलाई अझै व्यवस्थित बनाउनको लागि योजना बनाउन यो प्रशिक्षणबाट केही मदत पुग्यो ?
ःः अब रूपन्देही जिल्लामा हाम्रो सङ्गठन राम्रो छ । जिल्लाको कार्यवाहक अध्यक्षको नाताले मैले अझै धेरै कुरा जान्ने मौका पाएँ । सङ्गठनसम्बन्धी यहाँ सिकेका कुराहरू लगेर जिल्लामा सङ्गठन विस्तार गर्ने कुरामा अलि जोड दिनुपर्छ भन्ने लागेको छ ।
० राष्ट्रिय जनमोर्चा अरू पार्टीभन्दा बढी सिद्धान्त, विचारमा बढी नै जोड दिने पार्टी हो भन्ने मानिन्छ । यो पन्ध्र दिनको तपाईंले प्रशिक्षण लिइसकेपछि तपाईंहरूको कार्यशैली अझै सुदृढ हुन्छ होला । त्यो हिसाबले गर्दाखेरि अब रूपन्देहीको सङ्गठनलाई विकास विस्तार गर्न अथवा त्यहाँ सङ्घर्षको कार्यक्रम अगाडि बढाउन कसरी जाने सोच्नुभएको छ ?
ःः रुपन्देहीको सङ्गठन विस्तार गर्न पहिला जिल्ला कमिटीको बैठक बस्ने, त्यसपछि नगरको बैठक बस्ने, टोल वा ग्रास स्तरका बैठक बस्ने र त्यसका निर्णयलाई सङ्गठनमाझ लैजाने विचार गरेकी छु । हामी यस्तो यस्तो क्लास लिएर आइएको छ, यसलाई व्यवहारमा कसरी लैजाने भनेर छलफल गर्नेछौँ ।
० महिलाको मुक्ति भन्नाले हामीले के बुझ्ने ? केलाई भनिन्छ महिलाको मुक्ति ?
ःः हाम्रो समाजमा महिलालाई अधिकार पैँतिसदेखि पचास प्रतिशतसम्म दिइएको छ भन्ने लाग्छ । हाम्रो समाज अझै मुक्त हुन सकेको छैन । यसका लागि हामीले केन्द्र स्तरमा मात्र हैन, जिल्ला स्तरमा पनि महिलालाई अझै सशक्त बनाएर अगाडि बढाउनुपर्छ भन्ने लाग्छ ।
० प्रशिक्षणमा महिला सहभागिता कस्तो छ ?
ःः एकदमै न्यून छ । हामी यत्रो यो कार्यक्रममा आएका छौँ । पुरुषहरू बिस जनाजति हुनुहुन्छ । हामी महिला जम्मा तीन जना छौँ । हामीले कोसिस गरेर महिला मुक्ति आन्दोलनको लागि जोडदार रूपले हामी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ ।
० अहिले प्रविधिको उच्च विकास भएको छ । हरेक कुरा मोबाइलबाटै सबैको जानकारी पाइन्छ । तपाईंलाई त्यस्तो लाग्दैन, यो प्रशिक्षण नसिकेर मोबाइलबाट ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने ?
ःः हामीलाई प्रशिक्षणको साथसाथै मोबाइलको पनि एकदमै आवश्यकता छ । हामी महिलाहरू पढाइमा पनि अलि कमै छौँ । यो स्तरवृद्धिका लागि पार्टीस्कुलले अझै राम्रोसँग दुई/तीन चोटि क्लास दिएर, प्रत्येक व्यक्तिलाई सिकाएर मदत गर्नुपर्दछ । पुरुषहरू हामीभन्दा केही न केही पढेलेखेका एक्टिभै हुनुहुन्छ तर हामी महिलाका लागि पार्टीले अझै कोसिस गरे हुन्थ्यो जस्तो लाग्छ ।
० भन्नुको अर्थमा महिलाकेन्द्रित प्रशिक्षण भइदिए हुन्थ्यो भन्ने हो ?
ःः हजुर । महिलाकेन्द्रित प्रशिक्षण भइदिए हुन्थ्यो । पुरुषहरू जति सङ्ख्यामा उपस्थित हुनुहुन्छ, त्यसको आधा सङ्ख्यामा हामी महिलालाई पनि उपस्थित गराउन पाए हुन्थ्यो । यत्रो बाइसौँ सेसनसम्म पनि हामी अझै कम छौँ, यो सङ्ख्या बढाउन पाए हुन्थ्यो भन्ने लाग्छ ।
० तपाईंहरूको भाइचारा सङ्गठन अखिल नेपाल महिला सङ्घ पनि छ । त्यसले पनि यस्ता प्रशिक्षण चलाउन्न ?
ःः प्रशिक्षण त चलाउँछ । अब हाम्रो महिला सङ्गठन नै अलिकति कमजोर भएको स्थिति छ । एक त अहिले सबै राजनीति दल कमजोर छन् । महिला सङ्गठन कमजोर भएको हुनाले केन्द्रमा पनि महिलाहरू कमै हुनुहुन्छ । यो प्रशिक्षणलाई जिल्लास्तरमा लैजाऔँ, महिलालाई सङ्गठित गरौँ भन्ने लागिराखेको छ । अरू कार्यक्रम त भइरहेको छ । रुपन्देही जिल्लामा म महिलाको पनि अध्यक्ष हुँ । प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम भइरहेका छन् तर यो पार्टीगत हिसाबले भयो । महिलाको एकचोटि भयो । अरू पार्टीगत हिसाबले प्रशिक्षण क्लास त भइराखेछन् तर महिलाकै भनेर नितान्त भएको छैन । गर्ने कोसिस गरेका छौँ ।
० देशमा नयाँ भनिएकाको सरकार आएको छ । यो सरकारले महिलाको लागि अलग्गै केही काम गर्छ भन्ने पनि बेलामा हामी सुन्छौँ । जस्तै अब ब्ल्यू बसको कुरा पनि आयो । यो सरकारबाट महिलाको हकमा फरक काम हुन्छ भन्ने आशा गर्नुहुन्छ कि गर्नुहुन्न ?
ःः आस त गर्नुपर्र्यो, भर पर्नुभएन । महिलाका लागि बसको कुरा आएको छ । तर महिलाको मात्रै एउटा गाडी एक ठाउँमा चलाएर भएन । त्यो नेपालभरि नै हुनुपर्यो, त्यो लागु हुनुपर्यो । काठमाडौँमा मात्रै लागु भएर भएन । ग्रामीण स्तरका महिला झन् पीडित छन् । उसलाई गाडीमा हिँड्ने पैसा छैन । राज्यले यहाँ मात्रै हेरेर भएन, सबै ठाउँका महिलाको लागि सोच्नुपर्दछ । एक ठाउँका लागि मात्रै सोच्ने तरिका मलाई राम्रो लागेन ।
० प्रशिक्षण सकिएपछि तपाईंहरूलाई राष्ट्रिय जनमोर्चाले कुनै विशिष्ट जिम्मेवारी सुम्पिन्छ कि सुम्पिँदैन ?
ःः प्रशिक्षण लिएर गइसकेपछि हामी जिम्मेवारीमै हुन्छौँ । हामीलाई जिम्मेवारी सुम्पिएकाले नै यहाँ आएका हौँ भन्नुपर्यो । त्यसैले यहाँसम्म आयौँ, प्रशिक्षण लियौँ र यसले सुर्म्पिको काम हामी जिल्लामा गएर पूरा गर्नेछौँ । जे मैले यहाँ आएर जानेँ, त्यो मेरो जिल्लाका टोलमा लगेर यो राजनीति यस्तो रहेछ, हामी यस्तो किसिमले दबिएका रहेछौँ भनेर छलफल गर्नेछौँ । कुनै समयमा सतिप्रथा यस्तो रहेछ, वर्गसङ्घर्ष यस्तो रहेछ भनेर हामीले प्रशिक्षण चलाउनेछौँ ।
० अन्तमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने कुरा केही छुटेका छन् ?
ःः त्यस्तो खासै छुटेको त छैन तर पनि युगदर्शनमार्फत जुन हाम्रा कार्यक्रमसम्बन्धी सूचना प्रवाह भइरहेछ, यसलाई अझै विस्तृत होस् । युगदर्शन पहिला रुपन्देहीमा पाँच सयभन्दा बढी जान्थ्यो, अहिले एकदमै कम गइरहेको छ । हाम्रो पार्टीको दर्शन, विचार लैजाने पनि यही मिडियाले हो । त्यो भएर युगदर्शनलाई अझै अगाडि बढाउन पाए हुन्थ्यो । मलाई बोलाएर दुईचार शब्द बोल्ने दिनुभएकोमा युगदर्शनलाई पनि धन्यवाद दिन चाहन्छु ।