सर्लाही । खेतीका लागि भारतबाट मल ल्याउने क्रममा पक्राउ परेका सर्लाहीको बलरा–५ का दुई किसान ३८ दिनपछि धरौटीमा रिहा भएका छन्। सीतामढी जिल्लाको व्यवहार अदालतको आदेशपछि सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह शुक्रबार थुनामुक्त भएका हुन्।
रिहा भएपछि सुरेशप्रसाद सिंहले आफूहरू खेतीका लागि एक–एक बोरा युरिया मल ल्याउँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको बताए। उनका अनुसार आफूहरूसँग दुई बोरा मल मात्र भए पनि एसएसबीले सीमा क्षेत्रमा पहिल्यै बरामद गरिएका थप ६ बोरा मलसमेत राखेर आठ बोरा मल बरामद गरेको देखाएको थियो।
सिंहले नेपालमा मल नपाएका कारण सीमापारि भारतबाट मल ल्याउन बाध्य भएको बताए। “नेपालमै मल पाएको भए भारत किन जान्थ्यौं र ?” उनले भने, “मलको अभावका कारण किसानले दुःख पाइरहेका छन्।”
उनका अनुसार आफ्नो दुई बिघाभन्दा बढी खेतमा उखुसहित विभिन्न बाली लगाइएको छ र खेतीका लागि वार्षिक १०–१२ बोरा युरिया आवश्यक पर्छ। तर, स्थानीय तहमा मल वितरण गर्दा किसानको आवश्यकताअनुसार पर्याप्त मल नपाइने उनको गुनासो छ।
भारतमा ३८ दिनको बसाइँका क्रममा खाना र व्यवहारसमेत राम्रो नभएको उनले बताए। “खेत जोतेर रोपाइँका लागि तयार पारेको थिएँ। त्यही बेला पक्राउ परें,” सिंहले भने, “रोपाइँको समयमा खेतमा हुनुपर्ने मान्छे जेलमा परें।”
अदालतले धरौटीमा रिहा गरे पनि मुद्दाको अर्को पेसी एक महिनापछि तोकिएको उनले जानकारी दिए। रिहाइका लागि दुई जना भारतीय नागरिकलाई साक्षी राखिएको उनको भनाइ छ।

