काठमाडौं, २२ साउन । नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या समाधान गर्न नसकेको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसदहरूले ग्यास तथा रासायनिक मलको अभाव, किसानका समस्या, विपन्न नागरिकको दाहसंस्कार, स्वास्थ्य सेवा, बेपत्ता नागरिकको खोजी र सार्वजनिक प्रदर्शन व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराए।
सांसद रमेश प्रसाईंले चुनावअघि रास्वपाले गरेको ‘नो लाइन, वन्ली अनलाइन’ प्रतिबद्धता सम्झाउँदै अहिले नागरिक खाना पकाउने ग्यासका लागि घण्टौं लाइन बस्न बाध्य भएको बताए। पर्याप्त ग्यास उपलब्ध रहेको सरकारी दाबी भए कृत्रिम अभाव र कालोबजारी गर्नेलाई तत्काल कारबाही गर्न उनले माग गरे।
अन्य सांसदहरूले पनि ग्यास र मलको वास्तविक अवस्था सरकारले स्पष्ट पार्नुपर्ने बताए। किसानले उत्पादन गरेको सुन्तला बाँदरले नष्ट गरिरहेको भन्दै वन्यजन्तु नियन्त्रणका लागि स्थानीयस्तरमा ‘वन्यजन्तु हेरालो’ कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझावसमेत दिइयो।
सांसद टीका संग्रौलाले विपन्न नागरिकको अन्तिम संस्कारका लागि राज्यले न्यूनतम सहयोगको व्यवस्था गर्नुपर्ने माग गरिन्। त्यस्तै, काभ्रेमा बेपत्ता वृद्ध दम्पतीको खोजीलाई तीव्रता दिन र बोनम्यारोसम्बन्धी उपचार सेवा विस्तार गर्न सांसद बदनकुमार भण्डारीले आग्रह गरे।
माइतीघरमा हुने नागरिक प्रदर्शनलाई व्यवस्थित बनाउन वैकल्पिक खुला स्थान, सुरक्षा, सरसफाइ र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सांसद गजाला शमीम मिकरानीले सुझाव दिइन्।
सांसद मनिष झाले भने सरकारलाई आफ्नो कार्यशैलीको आत्मसमीक्षा गर्दै सिक्ने र सुधार्ने क्षमता विकास गर्न आग्रह गरे। मधेश, प्रवास र निजी क्षेत्रलाई विकासका महत्वपूर्ण साझेदारका रूपमा विश्वासमा लिनुपर्ने भन्दै उनले राज्य सञ्चालनमा सन्तुलित व्यवहार आवश्यक रहेको बताए।
समग्रमा सत्तारूढ सांसदहरूले सरकारको आलोचनामात्र नभई नागरिकका तत्कालीन समस्या समाधान, सेवा प्रवाह सुधार र राज्य सञ्चालनमा आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन्।

