काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आन्तरिक तयारी नपुगेको भन्दै साउनमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरी आगामी असोज ५ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। पोखरामा सम्पन्न केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले सम्मेलनको नयाँ मिति तय गरेको हो।
बैठकले पार्टीको नेतृत्व प्रणालीमा परिवर्तन गर्दै अबदेखि ‘अध्यक्षमण्डल प्रणाली’ लागू गर्ने निर्णय गरेको छ। सम्मेलनको तयारीस्वरूप साउन २९ देखि भदौ २६ गतेसम्म ब्युरो समितिका बैठक तथा प्रशिक्षण सञ्चालन गरिने पार्टीले जनाएको छ।
विभिन्न क्रान्तिकारी पार्टी, संगठन तथा व्यक्तिसँग एकता, ध्रुवीकरण र कार्यनीतिक तथा रणनीतिक मोर्चामार्फत सहकार्य गर्ने नीति पनि बैठकले पारित गरेको छ। साथै, सरकारका नीतिहरू जनविरोधी भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध राजनीतिक संघर्ष चर्काउने निर्णय गरिएको छ।
बैठकले अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गर्दै अमेरिकी साम्राज्यवादलाई विश्व शान्तिको मुख्य बाधकका रूपमा चित्रण गरेको छ। पार्टीले मार्क्सवाद–लेनिनवाद–माओवादप्रतिको आफ्नो वैचारिक निष्ठा कायम रहने स्पष्ट पारेको छ।

