काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा असफल भएको आरोप लगाएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको संकटबाट गुज्रिरहेको दाबी गरे। दुईतिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि सरकारले जनताको समस्या समाधान गर्न नसकी ध्यान अन्यत्र मोड्न खोजेको उनको आरोप थियो।
कांग्रेसले देवानगञ्ज–कप्तानगञ्ज घटना तथा भदौ २३/२४ का घटनाबारे निष्पक्ष उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप, राहदानी खरिद प्रकरण, प्रतिनिधिसभा नियमावली, गृहमन्त्रीसँग जोडिएका विवाद तथा भ्रष्टाचारका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने पनि कांग्रेसको माग छ।
त्यस्तै सरकारी नियुक्तिमा दलीयकरण, विदेश नीतिमा अपरिपक्वता, सुकुम्बासी समस्या, निजी क्षेत्रमाथिको दबाब, मल र ग्यास अभाव तथा शिक्षा क्षेत्रका समस्यामा सरकार असफल भएको कांग्रेसको आरोप छ।
कांग्रेसले सरकार अस्थिर बनाउने आफ्नो उद्देश्य नरहेको स्पष्ट पार्दै संविधान, सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सरकार सञ्चालन हुनुपर्नेमा जोड दिएको छ।