पक्राउ पुर्जी जारी भएको एक महिना बित्दा पनि प्रहरी निष्क्रिय रहेको भन्दै पत्रकार महासंघको आक्रोश
Advertisement
काठमाडौं, साउन १८ । नेपाल पत्रकार महासंघले पत्रकारलाई ज्यान मार्ने धम्की दिने तथा सामाजिक सञ्जालमार्फत पत्रकारिता र पत्रकारहरूको चरित्रहत्या गर्ने अभियुक्त नवराज ओली (नितेश) लाई तत्काल पक्राउ गर्न सरकार र प्रहरी प्रशासनसँग कडा माग गरेको छ।
महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा झापाको हल्दिबारी गाउँपालिका–१ निवासी ओलीले नेपाल पत्रकार महासंघ झापा शाखा, शाखा अध्यक्ष तथा पदाधिकारीहरूविरुद्ध सामाजिक सञ्जाल र सन्देशमार्फत निरन्तर भ्रामक प्रचार, मानमर्दन तथा ज्यान लिने धम्की दिइरहेको जनाएको छ।
महासंघका अनुसार विभिन्न अपराधमा संलग्न भई फरार रहेका भनिएका ओलीका गतिविधि प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको ठहर गरिएको छ। यस्ता कार्य निन्दनीय मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र पत्रकारिताविरोधी भएको महासंघको भनाइ छ।
महासंघले झापा शाखाले २०८३ असार १५ गते साइबर अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय, झापामा संस्थागत रूपमा जाहेरी दिएको र त्यसपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको स्मरण गराएको छ। तर, पक्राउ आदेश जारी भएको एक महिना बितिसक्दा पनि अभियुक्तलाई नियन्त्रणमा नलिइनुले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको महासंघले जनाएको छ।
सामाजिक सञ्जालमा अभियुक्त निरन्तर सक्रिय रहँदा पनि पक्राउ प्रक्रियामा भइरहेको ढिलाइप्रति आश्चर्य व्यक्त गर्दै महासंघले बिना कुनै बहाना तत्काल पक्राउ गर्न, सामाजिक सञ्जालमार्फत भइरहेका अवाञ्छित गतिविधि रोक्न तथा दण्डहीनताको अन्त्य गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारको सुरक्षा सुनिश्चित गर्न र प्रेस स्वतन्त्रताको संरक्षणमा राज्य जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिइएको छ।
