काठमाडौँ, साउन २ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता गम्भीर चुनौतीमा परेको बताउनु भएको छ । उहाँले वैदेशिक शक्तिहरूको दबाब र हस्तक्षेपका कारण नेपाल संकटतर्फ धकेलिँदै गएको दाबी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि संघर्ष आवश्यक रहेको बताउनु भयो ।
साउन २ गते शनिबार काठमाडौँमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिंहले विदेशी शक्ति केन्द्रहरूको प्रभावमा सरकार सञ्चालन हुने अवस्था सिर्जना भएको आरोप लगाउनु भयो । नेपालमा अमेरिकी प्रभाव र पहुँच बढ्दै गएको भन्दै उहाँले यसलाई राष्ट्रिय स्वाधीनताका लागि महत्वपूर्ण चुनौतीका रूपमा प्रस्तुत गर्नुभयो ।
अमेरिका र चीनबीचको बढ्दो भू–राजनीतिक तनावको केन्द्र नेपाललाई बनाउन खोजिएको दाबी गर्दै सिंहले एमसीसीलगायतका सम्झौतामार्फत नेपाललाई सैन्य तथा रणनीतिक गठबन्धनमा तान्ने प्रयास भइरहेको बताउनु भएको छ । ‘यस्तो प्रवृत्तिले नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा असर पार्न सक्छ’ उहाँको भनाइ थियो ।
नेपाली भूमिलाई छिमेकी चीनविरुद्ध प्रयोग गर्ने प्रयास भइरहेको दाबी गर्दै सिंहले विगतको खम्पा विद्रोहको प्रसंगसमेत उल्लेख गर्नु भयो । नेपालका केही क्षेत्रमा तिब्बतसम्बन्धी गतिविधि बढ्दै गएको भन्दै उहाँले त्यस्ता गतिविधिले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिनु भयो ।
नेपालमा युद्धको अवस्था सिर्जना भए युक्रेनमा जस्तै गम्भीर मानवीय संकट उत्पन्न हुन सक्ने उहाँको भनाइ थियो । साम्राज्यवादी शक्तिहरूको हस्तक्षेपविरुद्ध राजनीतिक रूपमा सचेत र संगठित भएर अघि बढ्नुपर्ने सिंहले बताउनु भयो ।
लोकप्रियतावादप्रति आलोचना
सिंहले वर्तमान राजनीतिको अर्को चुनौतीका रूपमा लोकप्रियतावादलाई औँल्याउनु भयो । युवाहरूको निराशा र आक्रोशलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको उहाँको आरोप थियो ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका प्रमुख राजनीतिक दलहरूले लामो समयसम्म शासन सञ्चालन गरे पनि देशमा कुशासन र भ्रष्टाचार अन्त्य हुन नसकेको उहाँले बताउनु भयो । यसका कारण जनतामा निराशा बढेको उहाँको भनाइ थियो ।
निर्वाचनका समयमा जनतालाई विभिन्न प्रकारका प्रलोभन देखाएर मत प्राप्त गर्ने र सत्तामा पुगेपछि जनहितका मुद्दा ओझेलमा पार्ने प्रवृत्ति रहेको सिंहले आरोप लगाउनु भयो । राजनीतिक चेतनाको अभावका कारण जनता पटक–पटक त्यही प्रवृत्तिका राजनीतिक शक्तिको प्रभावमा पर्ने गरेको उहाँले बताउनु भयो । ‘अहिलेको मुख्य आवश्यकता जनताको राजनीतिक तथा वैचारिक चेतनाको विकास हो’ सिंहले भन्नु भयो ।

सांस्कृतिक आन्दोलनलाई प्राथमिकता
राजनीतिक भाषणबाट मात्र जनताको चेतना परिवर्तन गर्न कठिन हुने भन्दै सिंहले सांस्कृतिक आन्दोलनलाई प्रभावकारी माध्यमका रूपमा अघि बढाउनुपर्ने बताउनु भयो । गीत, नृत्य, नाटक, कविता र साहित्यका माध्यमबाट जनतामा राजनीतिक चेतना विकास गर्न सकिने उहाँको भनाइ थियो।
प्रगतिशील तथा क्रान्तिकारी सांस्कृतिक गतिविधिले जनताको चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भयो । विगतमा प्रतिबन्ध र दमनका बीच पनि पार्टीसम्बद्ध सांस्कृतिक अभियन्ताहरूले जनतामाझ राजनीतिक चेतना फैलाउने काम गरेको उहाँले स्मरण गर्नुभयो ।
सांस्कृतिक मोर्चालाई थप सशक्त बनाउने उद्देश्यले राजनीतिक चेतनामूलक नाटक मञ्चन गर्ने तयारी भइरहेको सिंहले जानकारी दिनुभयो । प्रज्ञा प्रतिष्ठान वा अन्य उपयुक्त रंगमञ्चमा नाटक प्रदर्शन गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो ।
पार्टीको आन्दोलनमा आधारित ‘कमरेड जलजला’ उपन्यासले पनि वैचारिक चेतना विकासमा योगदान पुर्याएको महामन्त्री सिंहको भनाइ थियो ।

सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप
महामन्त्री सिंहले वर्तमान सरकार क्रमशः निरंकुश र तानाशाही दिशातर्फ उन्मुख भएको आरोप लगाउनु भयो । विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चारमाध्यममाथि दबाब र दमन बढेको उहाँको दाबी थियो ।
जनताका समस्या समाधान गर्नुपर्ने सरकार निरंकुशता लाद्नेतर्फ अग्रसर भएको आरोप लगाउँदै उहाँले वर्तमान राजनीतिक प्रणालीमा पुनर्विचार आवश्यक रहेको बताउनु भयो ।
वर्तमान शासकहरू संविधानका प्रगतिशील प्रावधान उल्टाउने प्रयासमा लागेको आरोप लगाउँदै उहाँले त्यसविरुद्ध निरन्तर राजनीतिक संघर्ष आवश्यक रहेको बताउनु भयो ।
सिंहले राष्ट्रिय स्वाधीनताको रक्षा, वैदेशिक हस्तक्षेपको विरोध, जनताको राजनीतिक तथा वैचारिक चेतना विकास र सांस्कृतिक आन्दोलनलाई पार्टीका आगामी गतिविधिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने संकेत गर्नुभएको थियो ।
कार्यक्रममा वामपन्थी नेता आनन्द शर्मा, राजमो महासचिव मनोज भट्ट, राजमो उपाध्यक्ष दुर्गा पौडे, बुद्धिजीवी समिर सिंहर, अधिवक्ता पदम रोका लगायत विभिन्न नेताहरूले मन्तव्य राख्नुभएको थियो ।