नयाँ दिल्ली । प्रख्यात जलवायु अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकले नयाँ दिल्लीस्थित जन्तर–मन्तरबाट जारी आफ्नो आमरण अनशनको १९औँ दिन भिडियो सन्देश जारी गर्दै देशभरका नागरिक, विद्यार्थी तथा सरोकारवालालाई आन्दोलनमा ऐक्यबद्ध हुन आग्रह गरेका छन्।
वाङ्चुकले सन् २०२६ जुन २८ देखि आमरण अनशन सुरु गरेका हुन्। उनले NEET UG–२०२६ परीक्षामा भएको भनिएको अनियमितताको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्। उक्त आन्दोलन ककरोच जनता पार्टी (CJP) को नेतृत्वमा सञ्चालन भइरहेको जनाइएको छ।
लगातारको अनशनका कारण वाङ्चुकको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकीय विवरणअनुसार उनको तौल करिब ९ किलोग्रामले घटिसकेको छ र उनी २४सै घण्टा चिकित्सकीय निगरानीमा रहेका छन्।
यसैबीच, वाङ्चुकको स्वास्थ्य सुरक्षासम्बन्धी मागसहित दायर रिटमाथि सुनुवाइ गर्दै दिल्ली उच्च अदालतले केन्द्र सरकारसँग जवाफ मागेको छ।
वाङ्चुकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आज (जुलाई १६) देशभर एकदिने सामूहिक उपवास कार्यक्रम आयोजना गरिएको छ। साथै, संसद्को मनसुन अधिवेशन सुरु हुने दिन जुलाई २० मा ‘चलो संसद’ मार्चको समेत आह्वान गरिएको छ।
वाङ्चुकको आन्दोलनले शिक्षा प्रणालीको पारदर्शिता, सार्वजनिक परीक्षाको विश्वसनीयता तथा सम्बन्धित निकायको उत्तरदायित्वका विषयलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।





