काठमाडौँ, साउन ३ । राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव तथा पूर्व सांसद हरि आचार्यले झुट, भ्रम र आतंकको राजनीतिले मुलुकलाई गम्भीर संकटतर्फ धकेलिरहेको चेतावनी दिनुभएको छ ।
‘निर्वाचन एक अनुभूति’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै आचार्यले संसद, सरकार, सञ्चारमाध्यम र विभिन्न शक्तिकेन्द्रमार्फत गलत सूचनाको खेती भइरहेको आरोप लगाउनु भयो । उहाँले विगतका सरकारहरूको कमजोरी र राजनीतिक नेतृत्वको असफलताका कारण देशको अवस्था जटिल बनेको बताउनु भयो ।
आचार्यले राजनीतिक दलहरू जनताको वास्तविक समस्याबाट टाढिँदै गएको उल्लेख गर्दै सुधार र सुशासनको अनुभूति जनताले गर्न नसकेको धारणा राख्नुभएको थियो । “देशको संकट केवल व्यवस्थाको होइन, नेतृत्वको कमजोरी र व्यवहारिक राजनीतिक प्रक्रियाको पनि परिणाम हो,” उहाँले भन्नुभयो ।
उहाँले पत्रकार, मजदुर, विद्यार्थी तथा विभिन्न पेशागत क्षेत्रमा आतंक सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुग्न थालेको बताउनु भयो । “जनताको मत र अभिमतलाई दबाएर फासीवादी चरित्रको राज्य सञ्चालन गर्न खोज्ने प्रवृत्ति अन्ततः असफल हुन्छ,” उहाँले चेतावनी दिनुभएको थियो ।
आचार्यका अनुसार जब राजनीतिक शक्तिहरूले जनविश्वास गुमाउँछन्, तब जनता नयाँ विकल्पको खोजीमा लाग्छन् । त्यसैले वर्तमान सत्तापक्ष र विपक्ष दुवैले आत्मसमीक्षा गरी देशलाई सही दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा उनले लेखक, पत्रकार, बुद्धिजीवी तथा आम नागरिकलाई देशको लोकतान्त्रिक भविष्य र राष्ट्रिय स्वाभिमानको पक्षमा निडर भएर उभिन आग्रह गर्नुभएको थियो ।