काठमाडौं । मानवअधिकार एलाइन्स नेपालले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेको छ।
संस्थाले बिहीबार जारी गरेको सार्वजनिक अपिलमा गणेश नेपालीको मृत्युले राज्यको जवाफदेहिता, न्यायमा पहुँच तथा नागरिकको अधिकार संरक्षणसम्बन्धी गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ। साथै भूमिहीन, सुकुम्बासी तथा सीमान्तकृत समुदायसँग सम्बन्धित घटनाहरू, प्रहरी बल प्रयोग तथा अन्य मानवअधिकारसँग जोडिएका विषयमा पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने जनाएको छ।
एलाइन्सले पीडित परिवारलाई न्याय, क्षतिपूर्ति, आवश्यक राहत तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी संस्थागत सुधार गर्न सरकारसँग आग्रह गरेको छ। साथै संविधान, सर्वोच्च अदालतका आदेश तथा अन्तर्राष्ट्रिय मानवअधिकारका सिद्धान्तअनुसार राज्यका सबै कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।
