काठमाडौं, असार २५ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विभाजन भएको छ। पार्टीका केन्द्रीय नेता उमा भुजेल ‘शिलु’को संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रिय आयोजना समिति) गठन गर्दै नयाँ राजनीतिक पहलको घोषणा गरिएको हो।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत नयाँ समितिले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवाललाई केन्द्रमा राख्दै माओवादी आन्दोलनलाई पुनः एकताबद्ध गर्न पहल गर्ने जनाएको छ। विज्ञप्तिमा कम्युनिस्ट आन्दोलनमा देखिएको विभाजनले जनआन्दोलन कमजोर बनेको उल्लेख गर्दै समान विचारधाराका माओवादी शक्तिबीच वैचारिक तथा संगठनात्मक एकताको आवश्यकता औँल्याइएको छ।
समितिले राष्ट्रिय स्वाधीनताको रक्षा, जनजीविकाका पक्षमा संयुक्त संघर्ष, भ्रष्टाचार र विकृतिविरुद्ध अभियान तथा समाजवादी रूपान्तरणको लक्ष्यसहित साझा आन्दोलन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, सम्पूर्ण माओवादी घटकबीच एकता, सहकार्य र ध्रुवीकरणको प्रक्रिया अघि बढाउन आह्वान गरिएको छ।
यसैबीच, नयाँ समितिले आगामी २०८३ असोज महिनामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको जनाएको छ। उक्त भेलामार्फत पार्टीको भावी राजनीतिक कार्यदिशा तय गरिने र माओवादी धाराबीच एकताको अभियानलाई थप सशक्त बनाइने विज्ञप्तिमा उल्लेख छ।