काठमाडौँ, असार २२ । आइकोरद्वारा शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आइकोरका एसिया सहसंयोजक फिरोज (बंगलादेश)ले बंगलादेशको वर्तमान राजनीतिक अवस्था गम्भीर र चिन्ताजनक रहेको बताएका छन् ।
उनले बंगलादेशमा नयाँ अन्तरिम सरकार गठनपछि लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा अल्पसंख्यक समुदायको सुरक्षामाथि चुनौती बढेको दाबी गरे । सरकारले अल्पसंख्यक समुदाय, विभिन्न जातीय समूह तथा फरक विचार राख्ने व्यक्तिमाथि दमन र आक्रमण भइरहेको उनको आरोप थियो ।
फिरोजले पत्रकार, सञ्चारकर्मी, सामाजिक तथा राजनीतिक अभियन्ता र श्रमिक वर्गमाथि समेत दबाब बढेको उल्लेख गर्दै वर्तमान परिस्थितिले बंगलादेशको लोकतान्त्रिक वातावरण कमजोर बनेको बताए ।
उनका अनुसार नेपालमा आयोजित आइकोरको सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरूले विश्व राजनीतिक, आर्थिक तथा युद्धसम्बन्धी अवस्थाका साथै विशेषगरी एसिया र दक्षिण एसियाको समसामयिक परिस्थितिबारे छलफल गरेका थिए । सम्मेलनले विश्वभर बढ्दो साम्राज्यवाद, आक्रमण र विस्तारवादी प्रवृत्तिविरुद्ध संयुक्त रूपमा आवाज उठाउने साझा प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए ।
फिरोजले दक्षिण एसियामा पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरता बढ्दै गएको उल्लेख गर्दै श्रीलङ्का, बंगलादेश र नेपालमा देखिएका राजनीतिक परिवर्तन र त्यसपछिका घटनाक्रमबारे पनि छलफल भएको बताए ।
उनले बंगलादेशमा अन्तरिम सरकारले विदेशी शक्तिसँग गरेको भन्दै एक असमान र अन्यायपूर्ण सुरक्षा सम्झौताको आलोचना गरे । उक्त सम्झौताले देशको राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामाथि असर पारेको उनको दाबी थियो ।
यस्तै, सरकारले बंगलादेशको प्रमुख समुन्द्री बन्दरगाहको टर्मिनल विदेशी कम्पनीलाई सञ्चालन गर्न दिने तयारी गरेको आरोप लगाउँदै उनले त्यसको श्रमिक वर्ग र सर्वसाधारणबाट विरोध भइरहेको बताए । यस्तो निर्णयले राष्ट्रिय हित र आर्थिक स्वाधीनतामाथि नकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा फिरोजले बंगलादेशका श्रमिक, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनअधिकारको पक्षमा आन्दोलनलाई निरन्तरता दिइरहेको पनि बताए ।