काठमाडौँ, असार २२ । जर्मण्न कम्युनिस्ट पार्टी (एमएलपिडी) की नेतृ तथा अन्तर्राष्ट्रिय क्रान्तिकारी संगठनहरूको समन्वय समिति (आईसीओआर) की प्रमुख संयोजक मोनिका कार्टर एन्जेलले विश्वमा फासीवाद, युद्ध र वातावरणीय संकटको जोखिम बढ्दै गएको भन्दै यसको विकल्प समाजवादी तथा साम्यवादी समाज निर्माण भएको बताएकी छन्।
ICOR द्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्टरले पूँजीवाद र साम्राज्यवाद नै वर्तमान विश्वका प्रमुख समस्याको जड रहेको दाबी गरिन्। उनले विगतका समाजवादी अभ्यासबाट उपलब्धिसँगै कमजोरी र त्रुटीबाट पनि सिक्दै नयाँ ढंगले समाजवादको विकास गर्नुपर्ने धारणा राखिन् ।
उनका अनुसार सोभियत कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनपछि विश्व कम्युनिस्ट आन्दोलनमा निराशा छाएको भए पनि अहिले विशेषगरी युवापुस्तामा समाजवादप्रति नयाँ आकर्षण देखिन थालेको छ।
जर्मनीको उदाहरण दिँदै उनले हालै फासीवादी प्रवृत्तिविरुद्ध हजारौँ युवा सडकमा उत्रिएको र श्रमिक आन्दोलनसमेत सक्रिय बन्दै गएको बताइन्। उनले जर्मनीमा पुनः फासीवादको उदय हुन नदिन जनचेतना बढ्दै गएको उल्लेख गरिन्।
अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे बोल्दै एन्जेलले मध्यपूर्वको युद्ध, विशेषगरी इरानमाथिको आक्रमण र अमेरिकी नीतिको आलोचना गरिन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको भनिएको ‘कम्युनिस्टविरोधी अभियान’को उल्लेख गर्दै आईसीओआरले कार्ल मार्क्सका विचारलाई नै आफ्नो मार्गदर्शक बनाइरहेको बताइन्।
आईसीओआरले श्रमिक, महिला, वातावरणलगायत विभिन्न आन्दोलनबीच अन्तर्राष्ट्रिय सहकार्य गरिरहेको जानकारी दिँदै उनले गाजामा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि करिब पाँच लाख युरो संकलन भइसकेको र निर्माण तथा स्वास्थ्य क्षेत्रमा कार्यरत करिब १३० स्वयंसेवक परिचालन गर्ने तयारी रहेको बताइन्।
प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउनु यहूदीविरोधी कार्य नभएको उल्लेख गर्दै एन्जेलले दोस्रो विश्वयुद्धबाट सिक्नुपर्ने मुख्य पाठ फासीवाद र युद्धको पुनरावृत्ति हुन नदिन विश्वव्यापी एकता र जनचेतना निर्माण गर्नु रहेको बताइन्।