पाटन (ललितपुर) । राष्ट्रिय सहकारी महासङ्घले एक सय चौथो अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले सहकारीप्रतिको जनविश्वास पुन:स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
२०८३ असार २० गते आयोजित उक्त कार्यक्रममा मन्तव्य राख्दै भूमिव्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहकारी क्षेत्रको योगदानको चर्चा गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धिमा सहकारीलाई केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले आफ्नो नेतृत्वमा ५८ दिनको अवधिमा समस्याग्रस्त सहकारीबाट रु छ करोडभन्दा बढी असुली गरी रु चार करोड ५० लाखभन्दा बढी बचतकर्तालाई फिर्ता गरिएको जानकारी दिए ।
महासङ्घका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँसकोटाले सीमित सहकारीमा देखिएका समस्याका कारण समग्र सहकारी अभियान कमजोर भएको बताए ।
महासङ्घका सल्लाहकार लीलामणि पोखरेलले सहकारी क्षेत्रमा सुशासन, पारदर्शिता र अनुशासन सुदृढ गर्न आवश्यक भएको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य उषा झाले समाज, समुदाय र सहकारीबिचको सहकार्यले दिगो विकास र शान्ति प्रबद्र्धनमा योगदान पुग्ने बताए ।
सहकारी विभागका रजिस्ट्रार बाबुराम गौतमले संस्थागत सुशासन, इमानदारी, पारदर्शिता र सदस्यकेन्द्रित कार्यशैलीमार्फत सहकारीप्रतिको जनविश्वास पुन:स्थापित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पाँच विधामा उत्कृष्ट भनिएका सहकारी सङ्घसंस्था, सहकारी अभियन्ता, कर्मचारी र पत्रकारलाई सम्मान गरिएको थियो ।