(अखिल नेपाल बुद्धिजीवी सङ्घले २०८३ असार १८ गते तदनुसार जुलाई २, २०२६ मा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री सिंहले प्रस्तुत मन्तव्य)
सर्वप्रथम हामीले आज सम्पन्न हुन थालिरहेको “वर्तमान विश्वमा युद्ध र शान्तिका समस्या” विषयमा भाग लिन आउनुभएका प्रमुख अतिथि कामरेड मोनिका र अन्य अन्तर्राष्ट्रिय अतिथिहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ ।
हवाइजहाजको ढिलाइ वा अन्य कतिपय व्यावहारिक कारणले आइपुग्न नसक्नु भएका अन्तर्राष्ट्रिय अतिथिलाई पनि हामीले हार्दिक अभिनन्दन गर्न चाहन्छौँ । त्यसैगरी यो अन्तरक्रिया कार्यक्रममा भाग लिन नेपालका विभिन्न राजनीतिक पार्टी र सङ्घसंस्थाबाट आउनुभएका अतिथि र सहभागीलाई पनि हामीले हार्दिक अभिनन्दन गर्न चाहन्छौँ ।
यो महत्त्वपूर्ण कार्यक्रममा आयोजना गर्नु भएकोमा हामी अखिल नेपाल बुद्धिजीवी सङ्घ र यसका अध्यक्ष डा. श्रीधर गौतमलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
वास्तवमा यो हाम्रो समयको सबैभन्दा गम्भीर विश्वव्यापी समस्यामध्ये एक हो । यदि यो समस्यालाई ध्यानपूर्वक सम्बोधन गरिएन भने यसले विश्वयुद्ध वा आणविक युद्ध पनि निम्त्याउन सक्छ, जसले सम्पूर्ण मानव सभ्यतालाई नष्ट गर्न सक्छ ।
विश्वभर आयोजना गरिएका यस्ता कार्यक्रमको शृङ्खलाले युद्धबाट उत्पन्न खतराको प्रतिरोध गर्न र विश्वभर दिगो शान्ति कायम गर्न योगदान पुर्याउन सक्छ । त्यसकारण यस अन्तरक्रिया कार्यक्रमको महत्त्व वाह्य रूपमा सामान्यजस्तो देखिए पनि अत्यन्त गम्भीर भएको कुरा स्पष्ट छ ।
हाल विश्वको अवस्था अत्यन्तै तनावपूर्ण छ । युक्रेन, गाजा, इरान, सुडान, म्यानमार, प्यालेस्टाइन र अफगानिस्तानलगायत विश्वका धेरै भागमा युद्ध भइरहेका छन् । त्यसैगरी ताइवान, तिब्बत, भारत–पाकिस्तान सीमा र भारत–चीन सीमा वरपरको परिस्थिति पनि बढ्दो रूपमा तनावपूर्ण बनेको छ र त्यसले एक वा अर्को तरिकाले व्यापक अन्तर्राष्ट्रिय द्वन्द्वको बढ्दो खतरालाई प्रतिबिम्बित गर्दछ ।
यी कुनै पनि जारी द्वन्द्वबाट वा वर्तमान शीतयुद्धद्वारा सिर्जना गरिएको टकरावका विभिन्न बिन्दुबाट विश्वयुद्ध सुरु हुन सक्छ । त्यसकारण संसारलाई अर्को विश्वयुद्ध वा आणविक युद्धतर्फ लैजान सक्ने सबै कुराको विरोध गर्नु विश्वभरका सबै शान्तिप्रेमी जनता र संस्थाको जिम्मेवारी हो । यस सन्दर्भमा यसप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ, युद्ध र शान्तिको समस्या कुनै एक देशको सरोकारको विषय मात्र होइन, यो विश्वभरका सबै शान्तिप्रेमी जनताले सामना गर्नु परिरहेको अन्तर्राष्ट्रिय समस्या हो । यसले आजयुद्ध र शान्तिको विषयमा हुन थालिरहेको अन्तरक्रिया कार्यक्रमको महवलाई अझ बढाउँछ ।
हाम्रो विचारमा आजको संसारमा युद्धको बढ्दो खतरा मूलतः साम्राज्यवादको परिणाम हो । साम्राज्यवाद ऐतिहासिक रूपमा युद्धका लागि जिम्मेवार रहेको छ र यो वर्तमान खतराको प्रमुख स्रोत हो ।
यदि हामीले मानवजातिको इतिहासलाई फर्केर हेर्छौँ भने यो स्पष्ट हुन्छ कि हिंसा र युद्धको लागि विभिन्न प्रकारका शोषण जिम्मेवार छन्, साथै त्यस प्रकारको शोषणले उत्पीडनका विरुद्धको सङ्घर्षलाई पनि आवश्यक बनाएको छ ।
त्यस प्रकारका सङ्घर्ष न्यायपूर्ण छन् । त्यसकारण यी दुई प्रकारका युद्धलाई एउटै श्रेणीमा राख्न सकिँदैन र राख्नु हुँदैन ।
प्रतिक्रियावादी युद्धको विरोध गर्नुपर्छ, जबकि न्यायपूर्ण र क्रान्तिकारी युद्धलाई समर्थन गर्नुपर्छ ।
यस पृष्ठभूमिमा नेपालमा युद्धको खतरालाई पनि बेवास्ता गर्नु हुँदैन । नेपालको इतिहासको एउटा विशिष्ट विशेषता यो हो कि यो कहिल्यै कुनै विदेशी शक्तिको उपनिवेश बनेको थिएन । आधुनिक इतिहासमा नेपालले सन् १७८८ देखि १७९२ सम्म र फेरि सन् १८५५ देखि १८५६ सम्म चीनसँग युद्ध लडेको थियो । त्यसैगरी नेपालले सन् १८१४ देखि १८१६ सम्म ब्रिटिस भारत विरुद्ध नेपाल युद्ध लडेको थियो । त्यस बेलादेखि नेपालले अन्य कुनै देशसँग युद्ध लडेको छैन, यद्यपि नेपाली सैनिकले पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र ब्रिटिस सेनाअन्तर्गतका अन्य युद्धका साथै भारत–पाकिस्तानी युद्ध, चीन–भारत युद्ध र युक्रेन युद्धसहित विश्वभरका विभिन्न युद्धमा भाग लिएका छन्, तथापि आज नेपालको राजनीतिक अवस्था यसरी विकसित हुँदैछ, नेपाल आफैँ युद्धभूमि बन्ने सम्भावना बढ्दै गइरहेको छ ।
संयुक्त राज्य अमेरिका र चीनबिचको अन्तरविरोध निरन्तर तीव्र हुँदै गइरहेको छ । चीनको आर्थिक र सैन्य शक्ति बढ्दै जाँदा यो प्रतिद्वन्द्विता सैन्य र आर्थिक दुवै क्षेत्रमा विस्तार भएको छ । चीनले खडा गरेको चुनौतीलाई सामना गर्न संयुक्त राज्य अमेरिकाले इन्डो प्यासिफिक रणनीति अपनाएको छ, जसले चीनसँग सिमाना जोडिएका दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका देशमा आफ्नो प्रभाव बलियो बनाउन खोजेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) यसको बृहत् रणनीतिको एक हिस्सा हो ।
संयुक्त राज्य अमेरिकाले नेपालमा एमसिसीको लागि संसदीय अनुमोदन प्राप्त गर्न पनि सफल भयो । त्यति बेला राष्ट्रिय जनमोर्चाका एक र नेपाल मजदुर किसान पार्टीका एक तथा एमालेका दुई जना सांसदले मात्र आफ्नो पार्टीको ह्विपको उल्लङ्घन गरी एमसिसीका विपक्षमा मतदान गरेका थिए । एमसिसीका प्रावधानले नेपाललाई औपचारिक रूपमा संयुक्त राज्य अमेरिकाको सुरक्षा प्रभावमा ल्याएको छ । नेपालका प्रमुख दलहरूले संयुक्त राज्य अमेरिकाले लगाएका सर्त स्वीकार गरे र एमसिसीलाई समर्थन गरे, यद्यपि तिनीहरू चीनसँग नेपालको सम्बन्ध तोड्न तयार थिएनन् । चीनप्रति नेपालका सत्तारूढ राजनीतिक दलको यस्तो मैत्रीपूर्ण नीतिले संयुक्त राज्य अमेरिकाको रणनीतिक उद्देश्यमा अवरोध सिर्जना ग¥यो । त्यसैले संयुक्त राज्य अमेरिकाले पुराना प्रमुख राजनीतिक दलहरूलाई अमेरिकी समर्थक तत्त्वको सरकारद्वारा प्रतिस्थापन गर्ने नीति अपनायो, जसले विनाकुनै हिचकिचाहट अमेरिकी निर्देशन पालना गर्दछ । अमेरिकी हितसँग सम्बद्ध शक्तिमार्फत जेनजी आन्दोलनलाई हाइज्याक गरेर आफूलाई जेन जेड आन्दोलनको नेताको रूपमा प्रस्तुत गरेर संसदीय माध्यमबाट यस्तो सरकार स्थापना गर्न सम्भव भयो । यो सामान्यतया ज्ञात तथ्य हो, जहाँ पनि अमेरिकाको कुनै पनि कठपुतली सरकार स्थापित हुन्छ, यसले अनिवार्य रूपमा फासीवादी चरित्र लिन्छ । तथ्यले बताउँछन्, नेपालमा पनि त्यस प्रकारका फासीवादी प्रवृत्ति स्पष्ट रुपले देखा पर्दै गइरहेका छन् ।
भेनेजुयलामा राष्ट्रपति मादुरोलाई बलप्रयोग गरेर अपहरण गरिएको थियो । त्यस्तै इरानको सत्तालाई परिवर्तन गर्नका लागि सैन्य कारबाही गरिएको थियो, यद्यपि इरानी जनता र उनीहरूको सरकारको वीरतापूर्ण प्रतिरोधका कारण यी प्रयास असफल भए । यसको विपरीत नेपालमा अमेरिका शान्तिपूर्ण र संसदीय पद्धतिद्वारा पुरानो सत्तालाई समाप्त गरेर आफ्नो कठपुतली सरकार कायम गर्न सफल भयो ।
संयुक्त राज्य अमेरिकाको रणनीति तिब्बत कब्जा गर्ने र त्यहाँ दलाई लामालाई पुनस्र्थापित गर्ने रहेको छ । नेपाली भूमि प्रयोग नगरी यस्तो उद्देश्य प्राप्त गर्न सम्भव छैन । त्यो उद्देश्य पूरा गर्नका लागि नेपालभित्र खम्पा समूहलाई सङ्गठित सिआईएले लामो समयदेखि तयारी गरिरहेको छ ।
ऐतिहासिक रूपमा यो थाहा भएकै कुरा हो, खम्पा छापामारले एकपटक तिब्बतमाथि कब्जा गर्नका लागि नेपालको उत्तरी सिमानामा गुरिल्ला गतिविधि सञ्चालन गरेका थिए । त्यो प्रयास असफल भएपछि दलाई लामा भागेर सन् १९५९ मा भारतको हिमाचल प्रदेशको धर्मशालामा गएका थिए । आज पनि धेरै तिब्बती शरणार्थी नेपालमा बसोबास गर्छन् र उनीहरूले सिआइएको निर्देशनमा तिब्बतमाथि आक्रमणका लागि भूमिगत रुपले तयारी गरिरहेको कुरा बुझ्न गाह्रो पर्दैन । जेनजी आन्दोलनको बेलामा तिनीहरूले टिओबी बिल्लासहित खुला रूपले नै सडकमा प्रदर्शन गरेको उदाहरण पनि हाम्राअगाडि छ । यस प्रकारका कारबाही तिब्बतसम्बन्धी अमेरिकी रणनीतिलाई अगाडि बढाउने सङ्गठित प्रयास भएको कुरामा कुनै शङ्का छैन ।
यदि तिब्बतलाई लिएर चीन र संयुक्त राज्य अमेरिकाबिच युद्ध भयो भने नेपाल नेपाली जनताको हितसँग कुनै सरोकार नभएको युद्धमा संलग्न हुनेछ र त्यसरी नेपाल युद्धभूमिमा बदलिनेछ । यो कुरा बुझ्न गाह्रो पर्दैन, अमेरिकाको यही रणनीतिलाई कार्यान्वयन गर्न नै वर्तमान कठपुतली सरकार बनेको छ ।
यस प्रकारको पृष्ठभूमिमा अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्ष हाम्रो अन्तर्राष्ट्रिय जिम्मेवारीको अंश मात्र नभएर हाम्रो राष्ट्रिय आवश्यकता पनि बन्न गएको छ । त्यसकारण हामीले नेपालका सबै जनतालाई यो मुद्दालाई गम्भीरतापूर्वक लिन र विश्वभरका सबै साम्राज्यवाद र फासीवाद विरोधी, शान्तिप्रेमी र क्रान्तिकारी जनतासँग एकताबद्ध भएर दृढताका साथ त्यो सङ्घर्षलाई अगाडि बढाउन आह्वान गर्दछौँ ।