काठमाडौँ, असार १६ । रक्तिम सांस्कृतिक अभियानले देशव्यापी रूपमा सञ्चालन गरेको विशेष सांस्कृतिक अभियान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । अभियानका अध्यक्ष गिरिप्रसाद बुढाद्वारा जारी प्रेस विज्ञप्तिमा वर्तमान उपभोक्तावादी, व्यक्तिवादी तथा विकृत सांस्कृतिक हस्तक्षेपका विरुद्ध जनवादी, प्रगतिशील र वैज्ञानिक संस्कृतिको पक्षमा संघर्षलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।
विज्ञप्तिअनुसार नेपाली समाजमा पाश्चात्य उपभोक्तावादी संस्कृतिको प्रभाव बढ्दै जाँदा साहित्य, कला र संस्कृतिको क्षेत्रमा विकृति, विसंगति, अश्लीलता, अन्धविश्वास, निराशावाद र अवसरवाद मौलाउँदै गएको उल्लेख गरिएको छ । यस्ता प्रवृत्तिविरुद्ध सांस्कृतिक मोर्चालाई सुदृढ बनाउँदै जनतालाई क्रान्तिकारी चेतनाले सुसज्जित गर्नु आजको आवश्यकता भएको अभियानको निष्कर्ष छ ।
यसै उद्देश्यका साथ जेठ १ देखि सुरु गरिएको विशेष सांस्कृतिक यात्रा असार १४ गते दाङको घोराहीमा सम्पन्न भएको विज्ञप्तिमा जनाइएको छ । यात्राका क्रममा काठमाडौँ, चितवन, बागलुङ, पोखरा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, बुटवललगायत देशका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम र जनभेटघाट सहित सम्पन्न भएका थिए ।
अभियानले राष्ट्रियता, गणतन्त्र, जनजीविकाका सवालसँगै भ्रष्टाचार, बेरोजगारी, सामाजिक विभेद, विकृति र सांस्कृतिक विचलनविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रमहरू आयोजना गरेको जनाएको छ । अभियानले सांस्कृतिक आन्दोलनलाई जनताको मुक्ति संघर्षसँग जोड्दै परिवर्तनको पक्षमा सशक्त सांस्कृतिक हस्तक्षेप जारी राख्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
विज्ञप्तिमा अभियानलाई सफल बनाउन योगदान पुर्याउने विभिन्न जिल्ला समिति, सांस्कृतिककर्मी, कलाकार, आयोजक, पत्रकार, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ । आगामी दिनमा पनि जनपक्षीय संस्कृति निर्माण, प्रगतिशील कला–साहित्यको विकास र समाज रूपान्तरणको अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाइने रक्तिम सांस्कृतिक अभियानले जनाएको छ ।
