प्युठान । प्युठानको गौमुखी गाउँपालिका–५ खुङ्गस्थित सुन्दरमेलाका ११ वर्षीय विशाल सामत अहिले कक्षा ६ मा अध्ययनरत छन्। तर उनका लागि विद्यालयको पाठ्यपुस्तक मात्र पर्याप्त छैन; परिवारको मकैबारी जोगाउने जिम्मेवारी पनि उनको काँधमा छ । दिनभरि बाँदरको आतंकबाट खेती जोगाउन डिप्टी बस्नुपर्ने बाध्यताले विशालले खेतमै अस्थायी ओत बनाएका छन्, जहाँ उनी कापी, किताब र कलमसँगै भविष्यका सपना कोर्दै अध्ययन गरिरहेका छन्।
स्थानीय किसानहरूका अनुसार पछिल्ला वर्षहरूमा बाँदरको संख्या अत्यधिक बढेसँगै मकै, गहुँ, तरकारी तथा अन्य बालीमा ठूलो क्षति पुग्ने गरेको छ। खेतमा पाक्न लागेको बाली केही घण्टामै नष्ट हुने अवस्थाले किसानहरू निराश बन्दै गएका छन्। यही समस्याका कारण विद्यालय जाने उमेरका बालबालिकासमेत खेतबारीमा पहरा बस्न बाध्य भएका छन्।
विशालको तस्वीर अहिले ग्रामीण किसानको पीडा र राज्यको उदासीनताको प्रतीक बनेको छ। एकातिर शिक्षाको अधिकारको कुरा गरिन्छ, अर्कोतिर बालबालिका आफ्नो पढाइ र खेती दुवै जोगाउन संघर्ष गरिरहेका छन्। खेतको बीचमा त्रिपाल र छाताले बनाइएको सानो ओतभित्र बसेर अध्ययन गरिरहेका विशालले ग्रामीण यथार्थको कठोर चित्र प्रस्तुत गरेका छन्।
स्थानीयवासीहरूको गुनासो छ कि बाँदर नियन्त्रण तथा बाली संरक्षणका लागि प्रभावकारी सरकारी योजना नहुँदा किसान वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्न बाध्य छन्। राहत, क्षतिपूर्ति, वैज्ञानिक व्यवस्थापन वा दीर्घकालीन समाधानको अभावले किसानहरू थप समस्यामा परेका छन्।
कृषिप्रधान देश नेपालमा किसानले आफ्नै उत्पादन जोगाउन नसक्ने अवस्था आउनु विडम्बना भएको स्थानीयको भनाइ छ। उनीहरू सरकारले बाँदर नियन्त्रण, बाली क्षतिपूर्ति र किसानमैत्री नीतिहरू तत्काल लागू गर्नुपर्ने माग गरिरहेका छन्।