काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा विविधतायुक्त सामाजिक संरचनालाई ध्यानमा राख्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नहुने बताएकी छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आवश्यकता र कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने भए पनि शासकीय स्वरूप परिवर्तन गर्न नहुने धारणा व्यक्त गरिन्।
उनले लोकतन्त्रमा निर्वाचनमार्फत जनादेश प्राप्त गर्नु मात्र पर्याप्त नभई संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वको निरन्तर पालना आवश्यक हुने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले प्रतिनिधिसभा निर्वाचनको परिणामलाई कम्युनिस्ट आन्दोलनका लागि आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै एक निर्वाचनको नतिजाका आधारमा जनताको बहुदलीय जनवाद (जबज) वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे नकारात्मक निष्कर्ष निकाल्न नहुने बताइन्।
उनले कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या रचनात्मकताको अभाव रहेको उल्लेख गर्दै बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, संगठन तथा कार्यशैलीमा सिर्जनशीलता विकास गर्नुपर्नेमा जोड दिइन्। साथै युवा पुस्ताका आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन र उत्पादनमुखी अर्थतन्त्रका विषयमा समयानुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइन्।