प्युठान, असार १४ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानले स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख तथा जिल्ला समितिका सल्लाहकार मिनराज राना मगरको सवारी दुर्घटनामा निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
शनिबार जारी श्रद्धाञ्जली वक्तव्यमा विकास आयोजनाको अनुगमनपछि धनवाङ फर्कने क्रममा स्वर्गद्वारी–२ बाङ्गेसल्लास्थित क्षेत्रमा भएको सवारी दुर्घटनामा राना मगरको निधन भएको उल्लेख गरिएको छ।
वक्तव्यमा राना मगर जनप्रतिनिधिका रूपमा शिक्षा, खानेपानी, सडक, कृषि तथा ग्रामीण पर्यटनलगायत क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उनी इमानदार, अनुशासित र वामपन्थी आन्दोलनप्रति समर्पित सामाजिक अभियन्ताका रूपमा परिचित रहेको जनाइएको छ।
राष्ट्रिय जनमोर्चाले राना मगरको असामयिक निधनले पार्टी तथा प्युठानको वामपन्थी आन्दोलनलाई अपूरणीय क्षति पुगेको जनाएको छ। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
