काठमाडौं। नेपाली राजनीतिको ऐतिहासिक केन्द्र मानिने मोरङको विराटनगरस्थित कोइराला निवासमा शुक्रबार बिहान शीर्ष नेताहरूबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ।
पूर्वप्रधानमन्त्री तथा पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।
वर्तमान राजनीतिक परिस्थितिका बीच भएको यस भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय संसद्मा रहेका साना दलहरूको भूमिका, सत्ता गठबन्धनभित्र विकसित भइरहेका नयाँ राजनीतिक समीकरण तथा समग्र राष्ट्रिय राजनीतिक अवस्थाका सन्दर्भमा तीन शीर्ष नेताबीच भएको यो संवादलाई विशेष चासोका साथ हेरिएको छ।
भेटका क्रममा मुलुकको वर्तमान राजनीतिक अवस्था, आर्थिक शिथिलता, सुशासनको चुनौती तथा संसद्मा प्रस्तुत हुन लागेका महत्त्वपूर्ण विधेयकलगायतका विषयमा गहन छलफल भएको स्रोतले जनाएको छ।
नेपाली प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक केन्द्र तथा कोइराला परिवारको राजनीतिक विरासतसँग जोडिएको कोइराला निवासमा भएको छलफलमा डा. शेखर कोइरालाले संसद् र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै जनतामा बढ्दो निराशा अन्त्य गर्न प्रमुख राजनीतिक दलहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, प्रचण्ड र माधवकुमार नेपालले मुलुकमा बढ्दो बेथिति, भ्रष्टाचार र सुशासनका चुनौतीविरुद्ध संसद् र सडक दुवै माध्यमबाट लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूले साझा धारणा र पहल अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको स्रोतको भनाइ छ।
नेपाली कांग्रेसभित्र संस्थापन पक्षसँग फरक धारणा राख्दै आएका डा. शेखर कोइराला र वामपन्थी पृष्ठभूमिका दुई पूर्वप्रधानमन्त्रीबीच पछिल्लो समय बाक्लिँदै गएको संवादलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। यसले सत्ता साझेदार दलहरू र समग्र राष्ट्रिय राजनीतिमा नयाँ समीकरणबारे बहसलाई थप तीव्र बनाएको विश्लेषण गरिएको छ।