काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने निर्णय अनुमोदन भएकोप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ।
कार्यवाहक महामन्त्री शशिद्वारा जारी प्रेस वक्तव्यमा प्रदेश सभाको खारेजीले मुलुकमा बढ्दो आर्थिक भार कम गर्न मद्दत पुग्नुका साथै सङ्घीयता खारेज गर्ने दिशामा समेत बल पुग्ने उल्लेख गरिएको छ।
यस्तै, वक्तव्यमा लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता २०६२/६३ को जनआन्दोलनका महत्वपूर्ण उपलब्धि तथा संविधानका आधारस्तम्भ भएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी धर्मनिरपेक्षताको विषयमा स्पष्ट नदेखिएको टिप्पणी गरिएको छ।
मसालले धर्मनिरपेक्षताको सवालमा मौन रहनुले राजावादी वा भारतीय संस्थापन पक्षको प्रभावतर्फ झुकाव देखिने भन्दै धर्मनिरपेक्षताविरुद्धका कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ।
वक्तव्यको पूर्ण पाठ :
“चितवनमा जारी स्वतन्त्र पार्टीको महाधिवेशनले गरेका कतिपय निर्णयप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएकोले यो वक्तव्य जारी गरिएको छ :
१. स्वतन्त्र पार्टीले प्रदेश सभा खारेज गर्ने निर्णयलाई महाधिवेशनद्वारा अनुमोदन गरेको छ । त्यसलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन्छ । प्रदेश सभाको खारेजीले मुलुकमा अनावश्यक बढ्दो आर्थिक बोझलाई घटाउन मदत पुग्नुका साथै सङ्घीयताको खारेजीलाई पनि बल पुग्नेछ ।
२. लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता २०६२/६३ को जनआन्दोलनका उपलब्धिका साथै संविधानका मुख्य आधारस्तम्भ हुन् । तर स्वतन्त्र पार्टीको महाधिवेशनले धर्मनिरपेक्षताको सवालमा मौन बस्नुले संशय पैदा गरेको छ । धर्मनिरपेक्षताको सवालमा त्यस प्रकारको मौनताले राजावादी वा भारतको संस्थापन पक्षको बाटो अख्तियार गर्न खोजेको स्पष्ट हुन्छ । धर्मनिरपेक्षता विरुद्धको षडयन्त्र हाम्रो पार्टीलाई स्वीकार्य हुने छैन ।”
२०८३ असार १२ गते ।