काठमाडौं, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा मतदान प्रक्रिया र उम्मेदवार सूची व्यवस्थापनलाई लिएर नेता, उम्मेदवार तथा प्रतिनिधिहरूले व्यापक असन्तुष्टि जनाएका छन्।
भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा भोटिङ मेसिनमा उम्मेदवारको नाम न उम्मेदवारी दर्ताको क्रमअनुसार राखिएको, न त वर्णानुक्रमअनुसार मिलाइएको भन्दै उम्मेदवारहरूले प्रश्न उठाएका हुन्।
केन्द्रीय सदस्यका उम्मेदवार तथा सांसद गणेश कार्की, यज्ञमणि न्यौपाने, आशिका तामाङ, धनञ्जय रेग्मी, राजीव खत्री र उत्तमप्रसाद पौडेललगायतले सामाजिक सञ्जालमार्फत मतदान प्रणाली र उम्मेदवार सूचीकरणको आलोचना गरेका छन्। उनीहरूले मतदान प्रणालीमा अनिवार्य रूपमा निश्चित संख्याका उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था लोकतान्त्रिक अभ्यासअनुकूल नभएको बताएका छन्।
महाधिवेशन प्रतिनिधिहरूले पनि आफूले नचिनेका उम्मेदवारलाई समेत बाध्य भएर मत हाल्नुपरेको गुनासो गरेका छन्। खुलातर्फको क्लस्टर व्यवस्थापन स्पष्ट नभएको र उम्मेदवार सूचीमा अव्यवस्था देखिएको उनीहरूको भनाइ छ।
रास्वपाका एक नेताका अनुसार उम्मेदवारको अन्तिम नामावली तयार गर्ने क्रममा क्लस्टर छुट्याउन नसक्दा भोटिङ मेसिनमा क्रमसंख्या नमिल्ने समस्या देखिएको हो। एउटै क्लस्टरका फाराम फरक–फरक स्थानबाट संकलन गरिएकाले पनि सूची व्यवस्थापनमा त्रुटि भएको उनले बताएका छन्।
यद्यपि, महाधिवेशनमा देखिएको विवादबारे भोटिङ मेसिनका प्राविधिक र रास्वपा नेतृत्वको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।