काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बिहीबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो।
रिट निवेदनमा पौडेललाई पक्राउ गर्न पर्याप्त कानुनी आधार नरहेको दाबी गर्दै उनलाई थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने व्यवस्था गरिनुपर्ने माग गरिएको छ।
सर्वोच्च अदालतले पौडेललाई पक्राउ गर्न निर्देशन दिने विपक्षी निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग पक्राउ गर्नुपर्ने कानुनी आधार र कारण खुलाइएको लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
सर्वोच्च अदालत स्रोतका अनुसार विपक्षीबाट कारणसहितको लिखित जवाफ प्राप्त भएपछि आगामी पेसीमा रिटमाथि थप सुनुवाइ गर्दै आवश्यक आदेश जारी गरिनेछ।