“पढ्ने उमेरमा राजनीति गर्नु हुँदैन, विद्यार्थी संगठनहरू खारेज गर्नुपर्छ” भन्दै पुराना दलका भ्रातृ संगठनहरूमाथि निरन्तर प्रहार गरेर लोकप्रियतावादी (पपुलिस्ट) राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वास्तविक चरित्र चितवनमा जारी प्रथम महाधिवेशनको बन्दसत्रमा उजागर भएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बन्दसत्रमा आधिकारिक रूपमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनअनुसार १८ वर्षमुनिका सदस्यहरूको संख्या ३५ हजार २५७ रहेको उल्लेख गरिएको छ।
“आफैं धामी, आफैं झाँक्री” भन्ने उखानलाई चरितार्थ गर्ने उक्त प्रतिवेदनले रास्वपाको द्वैध चरित्र र व्यवहारिक विरोधाभासलाई उजागर गरेको देखिन्छ। हिजोसम्म विद्यालय र कलेजमा राजनीति गर्नु हुँदैन भन्दै विद्यार्थी संगठन खारेजीको चर्को नारा लगाउने रास्वपाले कुन नैतिक आधारमा १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई आफ्नो पार्टीको झण्डामुनि सदस्यता प्रदान गर्यो? घण्टीका समर्थकहरूले अरूमाथि आरोप लगाउनुभन्दा यस्ता संवेदनशील विषयमा स्पष्ट जवाफ दिन सक्नेछन् कि सक्नेछैनन्?
नेपालको प्रचलित कानुन तथा निर्वाचन आयोगको व्यवस्थाअनुसार १८ वर्ष नपुगी राजनीतिक दलको सदस्यता लिन वा मतदान गर्न पाइँदैन। स्वयं रास्वपाको संशोधित विधानले समेत सदस्यता प्राप्त गर्न न्यूनतम १८ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ। त्यसो भए ३५ हजारभन्दा बढी बालबालिकालाई कुन कानुन र विधानको आधारमा पार्टीमा आबद्ध गरियो? यो प्रश्न आफ्नै पार्टीभित्र उठाउने साहस र नैतिकता रास्वपाका नेताहरू तथा समर्थकहरूमा छ कि छैन?
राजनीतिक स्वार्थका लागि बालबालिकाको प्रयोग गर्दै अरूका विद्यार्थी संगठनलाई “झोले” भनेर आलोचना गर्ने रास्वपाले आफैंले भने कलिला मस्तिष्कमा सानै उमेरदेखि राजनीतिक प्रभाव रोपेर उनीहरूलाई भविष्यको भोट बैंक र कार्यकर्ताका रूपमा प्रयोग गर्न खोज्नु कत्तिको नैतिक छ? यदि अरूले गरेको गलत हो भने आफूले गरेको कार्य कसरी सही ठहरिन्छ?
रास्वपाले आफ्ना सार्वजनिक अभिव्यक्ति, पार्टी विधान र व्यवहारबीच देखिएको यो विरोधाभासबारे स्पष्ट रूपमा जवाफ दिन आवश्यक देखिन्छ। लोकतान्त्रिक राजनीतिमा आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारलाई पनि सोही मापदण्डमा जाँच्नु उत्तिकै आवश्यक हुन्छ।