काठमाडौं । पश्चिम बंगालमा तृणमूल कांग्रेस (टीएमसी) गम्भीर आन्तरिक विवादमा फसेको छ। पार्टीका विद्रोही विधायकहरूको बैठकले संस्थापक एवं पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई अध्यक्ष पदबाट हटाउँदै पूर्व मन्त्री अरूप रोयलाई नयाँ अध्यक्ष चयन गरेको दाबी गरेको छ। विद्रोही पक्षले आफूहरू नै वास्तविक तृणमूल कांग्रेस भएको बताउँदै निर्वाचन आयोगलाई पनि जानकारी गराउने जनाएको छ।
यता ममता बनर्जी पक्षले यो कदमलाई अवैध र हास्यास्पद भन्दै अदालतमा चुनौती दिने तयारी गरेको छ। पार्टी विधानअनुसार अध्यक्षसँग अन्तिम अधिकार रहने भएकाले विद्रोहीहरूको निर्णय मान्य नहुने उनीहरूको तर्क छ।
२०२६ को पश्चिम बंगाल विधानसभा निर्वाचनमा पराजयपछि टीएमसीमा विभाजन गहिरिँदै गएको छ। विद्रोही पक्षले अधिकांश विधायक र सांसदको समर्थन रहेको दाबी गरे पनि ममता पक्षले त्यसलाई अस्वीकार गरेको छ। दुवै पक्षबीच पार्टीको नेतृत्व, चुनाव चिन्ह र सांसद तथा विधायकहरूको वैधानिकतासम्बन्धी विवाद अहिले अदालत र निर्वाचन आयोगमा विचाराधीन छ।
यसैबीच, पार्टीका करिब ४४० करोड रुपैयाँ रहेको तीन बैंक खाता पनि विवादका कारण अस्थायी रूपमा फ्रिज गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।