कर्णाली, ९ असार । पहिरो, बाढी र भूकम्पजस्ता विपद्को उच्च जोखिममा रहेका पश्चिम नेपालका समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका छ स्थानीय तहमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ गरिएको छ।
वीरेन्द्रनगरमा आयोजित ‘प्रतिबद्ध–३ समापन तथा प्रतिबद्ध–४ शुभारम्भ’ कार्यक्रममा युरोपियन युनियनको आर्थिक सहयोगमा पिपल इन निड (पिन), आत्मनिर्भर सेवा केन्द्र, सेभ द चिल्ड्रेन इन्टरनेशनल र स्कट विल्सन नेपालको साझेदारीमा परियोजना सञ्चालन हुने जानकारी दिइयो।
परियोजना व्यवस्थापक शालिकराम घिमिरेका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, प्यूठानका सरुमारानी र माण्डवी गाउँपालिका तथा बझाङका केदारस्युँ र थलारा गाउँपालिकामा परियोजना लागू हुनेछ। परियोजनाका लागि रु १५ करोड ८४ लाखभन्दा बढी बजेट विनियोजन गरिएको छ।
कार्यक्रममा वक्ताहरूले विपद् पूर्वतयारी, उद्धार, राहत, पुनःस्थापना तथा समुदायको क्षमता विकासमा परियोजनाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। साथै, विपद् जोखिम न्यूनीकरणका असल अभ्यासको दिगोपन सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।