चितवन, असार ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह पार्टीको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भएका छैनन्।
रास्वपाको पहिलो महाधिवेशन चितवनमा उद्घाटन भएको छ । पार्टीका शीर्ष नेतादेखि केन्द्रीय सदस्य, सांसद तथा कार्यकर्ता र समर्थकको उपस्थिति रहेको उद्घाटन समारोहमा सांसद सिंह भने अनुपस्थित रहेका हुन् ।
सिंहका स्वकीय सचिव रञ्जित झाले सांसद सिंह महाधिवेशनमा सहभागी नभएको पुष्टि गरेका छन्। उनका अनुसार सिंह हाल काठमाडौंमै रहेका छन् ।
“उहाँ अहिले काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन नजानुभएको हो भन्नेबारे मलाई जानकारी छैन,” झाले भने।
सर्लाही–४ बाट निर्वाचित सांसद सिंह रास्वपाका चर्चित नेतामध्ये एक मानिन्छन्। उनी पछिल्लो समय पार्टीभित्र विभिन्न विषयमा फरक धारणा राख्दै आएका छन्। सार्वजनिक कार्यक्रम तथा संसद्मा समेत उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।
महाधिवेशनको अवसरमा सांसद सिंहको अनुपस्थितिले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू जन्माएको छ। तर, उनको अनुपस्थितिको कारणबारे आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।