काठमाडौं । राष्ट्रिय जनमोर्चाले करको दर हेरफेर गरी गोप्य सूचना चुहावट गरेको आरोपमा अर्थमन्त्री स्वर्णीम वाग्लेमाथि निष्पक्ष र तटस्थ छानबिन गर्न माग गरेको छ।
कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीद्वारा जारी प्रेस वक्तव्यमा संसद् तथा सञ्चारमाध्यममा उठेको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै न्यायिक वा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने मागलाई समर्थन गरिएको छ। विगतमा यस्ता प्रकरणमा छानबिन समिति गठन भएका नजिर रहेको उल्लेख गर्दै सरकार र अर्थमन्त्रीले छानबिनको आवश्यकता अस्वीकार गर्नु उचित नभएको जनमोर्चाको धारणा छ। वक्तव्यमा छानबिन समितिको विरोधले गोप्य सूचना चुहावट प्रकरणमा अर्थमन्त्रीको भूमिकामाथिको शंकालाई थप बलियो बनाएको पनि उल्लेख गरिएको छ।
त्यसैगरी, भारत–तिब्बत सीमा सुरक्षा बल (आईटीबीपी) को हेलिकोप्टर नेपाल सरकारको अनुमति बिना दार्चुला जिल्लाको नेपाली हवाई क्षेत्रमा प्रवेश गरेको घटनाको जनमोर्चाले घोर भर्त्सना गरेको छ। वक्तव्यमा नेपालको हवाई सीमा उल्लंघन भएको घटनाप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाएको तथा भारतीय पक्षले समेत माफी नमागेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।
जनमोर्चाले नेपालको सार्वभौमसत्ता र हवाई सीमासँग सम्बन्धित विषयमा सरकार गम्भीर बन्नुपर्ने माग गरेको छ।
प्रस्तुत छ वक्तव्य :
“अर्थमन्त्री स्वर्णीम वाग्लेले एउटा कम्पनीलाई लाभ पु¥याउने नियतले करको दर हेरफेर गरी गोप्य सूचना चुहावट गरेको भनेर संसदभित्र उठेको विषय र सार्वजनिक सञ्चार माध्यममा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । करको दर हेरफेर गरी गोप्य सूचना चुहावट प्रकरणमा अर्थमन्त्री स्वर्णीम वाग्लेमाथि निष्पक्ष र तटस्थ छानवीन हुनुपर्दछ । त्यसका लागि न्यायिक वा संसदीय छानवीन विशेष समिति गठन गरिनुपर्ने मागलाई हाम्रो पार्टीले समर्थन गर्दछ ।
विगतमा घटेका यस प्रकारका प्रकरणमा सत्यतथ्य छानवीन समिति गठन भएका नजीरहरू पनि छन् । न्यायिक वा छानवीन गठनको आवश्यकतालाई अस्वीकार गर्ने अर्थमन्त्री र सरकारको जोडलाई सही मान्न सकिन्न । छानवीन समिति गठन सम्बन्धी सरकार र अर्थमन्त्रीको विरोधबाट करको दर हेरफेर सम्बन्धी गोप्य सूचना चुहावटमा अर्थमन्त्रीको भूमिका रहेकोमा शङ्कालाई बलियो बनाइरहेको छ । त्यो कार्यमा एक्लै अर्थमन्त्रीको मात्र सहभागिता नभएर स्वयं सरकार प्रमुखकै संलग्नतामा त भएको छैन ? भन्ने गम्भीर प्रश्नलाई उपेक्षा गर्न मिल्दैन ।
भारत-तिब्बतीयन सीमा सुरक्षा बलको सैन्य हेलिकोप्टर नेपालको अनुमति बिना दार्चुला जिल्ला स्थित नेपालको हवाई क्षेत्र मिचेर प्रवेश गरेको विषयमा हाम्रो पार्टी जनमोर्चाले घोर भ्रत्सना गर्दछ । नेपालको हवाई सीमा मिचेर त्यसरी नेपालमा प्रवेश गरेको घटनाप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाउनु र भारतीय पक्षले पनि अर्को मुलुकको हवाई सीमा मिच्दा माफी सम्म नमाग्नु कार्यप्रति समेत हामीले गम्भीर क्षोभ प्रकट गर्दछौँ । “
२०८३ असार ०५ गते