बजेटमा त्रुटि भएको अर्थमन्त्रीको स्वीकारोक्ति
बजेटमा त्रुटि भएको अर्थमन्त्रीको स्वीकारोक्ति
तपाईको प्रतिक्रिया
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको बजेट विवरणमा केही प्राविधिक त्रुटि भएको स्वीकार गरेका छन्।
प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रका केही कार्यक्रम एलएमबीआईएस प्रणालीको एक्सेल सिटमा लुकेकाले प्रकाशित पुस्तिकामा नदेखिएको बताए। यद्यपि, कुल विनियोजित बजेट रकममा कुनै फरक नपरेको उनको भनाइ छ।
छलफलका क्रममा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले बजेट पुस्तिकाका विभिन्न पृष्ठमा रकमको हिसाब नमिलेको भन्दै प्रश्न उठाएका थिए। उनले यस्तो त्रुटि नियतवश वा भुलवश भएको हो भन्ने स्पष्ट पार्न सरकारसँग माग गरेका थिए।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग तथा रक्षा मन्त्रालयको बजेटसम्बन्धी प्रश्नको जवाफ अर्थमन्त्रीले दिन लागेपछि एमाले सांसद गुरुप्रसाद बरालले नियमापत्ति जनाएका थिए। तर सभामुख डोलप्रसाद अर्यालले सम्बन्धित कार्यालयबाट अधिकार प्रत्यायोजन भएको पत्र प्राप्त भएकाले अर्थमन्त्रीले जवाफ दिन सक्ने भन्दै नियमापत्ति अस्वीकार गरेका थिए।