काठमाडौं, ४ असार । सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन्।
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सीमा विवादबारे प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको १९ दिन बितिसक्दा पनि आफूहरूले स्पष्ट जवाफ नपाएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेका थिए। सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै सांसद पोखरेलले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण नदिएको बताए।
उनले भने, “आज १९ दिन भइसक्यो। उहाँले संसद्मा आएर ‘मैले गल्ती गरेँ’ भन्नुभएको छैन।”
प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उक्त अभिव्यक्ति दिएका थिए।
त्यस क्रममा उनले भनेका थिए, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ। मैले पनि प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ, भारतले नेपालको भूमि मात्र होइन, नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको रहेछ।”
प्रधानमन्त्रीको यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन् र संसद्मा औपचारिक स्पष्टीकरणको माग गरिरहेका छन्।