काठमाडौं । मलेसियामा एक जना नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट गरेको भाइरल भिडियोमा देखिएका पिडक पनि नेपाली नै भएको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावासले छानबिनका क्रममा कुटाइ खाने र कुट्ने दुवै व्यक्ति नेपाली भएको जनाएको छ ।
दूतावासका अनुसार उक्त भिडियोको बारेमा ३० जुलाईको मध्यरातमा राजदूतावासमा जानकारी आउनासाथ राजदूतावासले सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरुको छाता संगठन पीआईकेएमलाई खबर गरी सत्य तथ्य बुझ्न अनुरोध गरेको थियो । पीआईकेएमले ३१ जुलाईको किहान प्रहरीमा उजुरी दर्ता गर्यो भने राजदूतावासले यस सम्बन्धी सूचना उपलब्ध गराउन सबैमा आह्वान गर्यो ।
दूतावासले आह्वान गरे अनुसार उक्त घटनाका पिडित र पिडक दुवै जना राजदूतावासको सम्पर्कमा आएका थिए । दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको दूतावासको भनाई छ । पीडित ईस्लाम हुसेन नवलपरासी जिल्ला र पिडक राम गोपाल मुराउ कपिलबस्तु जिल्लाका स्थायी बासिन्दा हुन् ।
मलेसियाको अध्यागमन कानून अनुसार पिडक र पीडित दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको देखिएको छ।
उनीहरुका अनुसार भिडियोमा देखिएको घटना ७ जुलाई २०२० को बिहान करिव १० बजे तिर क्वालालम्पूरमा रहेको एम ३ मलमा भएको हो । निजहरु मध्ये पीडित सेक्युरिटी गार्ड र पिडक सुपरभाईजरको रुपमा कार्यरत रहेका थिए ।
दूतावासका अनुसार राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरु नै रहेको कुरा स्वीकार गरेका छन् । राम गोपाल मुराउ आज नै स्वेच्छाले मलेसियन प्रहरी समक्ष उपस्थित भएका छन् ।
