क्षितिजा राहादी मगर
Advertisement
आशाका त्यान्द्रा समाएर
विश्वासको भर्याङ चढ्न
कठिन हुँदोरहेछ बेस्सरी
आँसुका ढिक्का पिएर
मन बुझाउन कहाँ सजिलो रै’छ र
परदेश हिँडेका लाम देखेर
देशसँग सोध्ने प्रश्नै छैन
कहाँ पुग्दा रहेछन्
अभावका खडेरी ?
हालेर मल र जल
सबै नहुर्किदा रहेछन् बिरुवा
ढाकेर डोकामा
सबै नजोगिने रहेछन् चल्ला
सुकाएर बिस्कुन
उठाउन नसकिदो रहेछ सबै
आखिर देश सम्झिएर रोएका परदेशी
देशमै बसेर परदेश जान नपाएका मन
मन बुझाउने मन
तन तान्ने मन
धन कमाउने मन
फरक फरक रहेछन्
ओरालो लाग्दै गर्दा
उकालो चढ्दै गर्दा
कहाँ होला मिलन ?
आखिर नदी किनार हामी
बग्दैछ, मनको फाँटमा बगर बनेर