कल्पना पौडेल ‘जिज्ञासु’
गरिब र सुकुम्बासीको बस्तीमा
जब डोजरको आतङ्क मच्चिन्छ
केवल घर मात्र भत्किँदैन
बाध्यताका अनेकौँ टेकोले अड्याइएको
जिन्दगी भत्किन्छ
बेसहारा मानिसको आशा भत्किन्छ
आँसुको बाँध भत्किन्छ
दया, माया र करुणा पिँजरामा थुनिएपछि
सिङ्गै मानवीयता मर्छ
चकनाचुर हुन्छन् बामे सर्दै गरेका पोथ्राहरू
त्रासको धुवाँमा रगमगिएका छन्
बस्तीका पाठशाला
बलात् धुलोको साम्राज्यभित्र उभ्याइएका
बालबालिकालाई
र तिनका श्रमजीवी अभिभावकलाई
थाहा छैन
राजनीति के हो ?
सरकारी नक्सा के हो ?
उनीहरूलाई त यत्ति थाहा छ
त्यो भत्किएको घरभित्र
उनीहरूको सपना थियो
कापीकिताब थियो,
आमाको काख थियो,
वर्षातबाट जोगिने एउटा कुनो थियो
अशक्त बुढाबुढीका काँपेका हातले
भत्किएको घरको ढुङ्गा समातेर सोधिरहेका छन्
“गरिब हुनु नै अपराध हो र सरकार ?”
वर्षौंदेखि पसिनाले सिञ्चिएका बस्तीलाई
धुलोमा परिणत गरेर
सत्ताका ठेकेदारहरू
झुसिलो “विकास” डकार्छन्
हामी आवाज बुलन्द गर्दै भन्छौँ
पहिले वास्तविक सुकुम्वासी पहिचान गर
चहर्याइरहेका घाउमाथि डोजर होइन
मलम लगाऊ र गरिबका आँसु पुछ
मान्छेलाई मान्छे बनेर बाँच्न देऊ
आवासको व्यवस्था गर
डोजर आतङ्क बन्द गर
वास्तविक सुकुम्वासीको छानबिन गर
आवास तथा रोजगारीको व्यवस्था गर