सुर्खेत विरेन्द्रनगर । सुर्खेत विरेन्द्रनगर बजार आज फेरि चहलपहल मै थियो । सडक किनारमा गाडीहरूको आवाज, मानिसहरूको भीड, व्यापारको हतारो—सबै आ–आफ्नै गतिमा दौडिरहेका थिए । तर यही भीडको बीचमा एउटा आमाको सपना भने केही क्षणमै सडकमा पोखियो ।
टाढाको गाउँबाट भारी बोकेर आएकी ती महिला आफ्नो डोकोभरि काफल लिएर विरेन्द्रनगर आइपुगेकी थिइन् । जंगलका भिर–पाखाबाट टिपिएका ती राताम्य काफल उनका लागि केवल फल थिएनन्, ती त उनका नानी–बाबुको विद्यालय शुल्क थिए, कापी–कलम किन्ने आशा थिए, भोलिको उज्यालो सपना थिए ।
दिनभरि घाममा पसिना बगाउँदै, “काफल मिठो छ, काफल…” भन्दै बजार घुमेकी ती आमाले सायद सोचेकी थिइन्—आजको कमाइले छोराछोरीको अनुहारमा मुस्कान ल्याउनेछ । तर नियतिले अर्कै दृश्य तयार पारेको रहेछ ।
नगर प्रहरीको टोली आयो । सडक पेटीमा व्यापार गर्न नपाइने नियमको कठोर कार्यान्वयन भयो । नियमको नाममा ती महिलाको डोको उल्टाइयो । केही क्षणमै राताम्य काफल सडकभरि छरिए । धुलोमा मिसिएका ती काफलसँगै एक आमाको मेहनत, आशा र संघर्ष पनि पोखियो ।
त्यो दृश्य केवल काफल पोखिएको दृश्य थिएन, त्यो गरिबीमाथि शक्तिको कठोर प्रदर्शन थियो । महिलाको अनुहारमा देखिएको विवशता, आँखामा भरिएको आँसु र सडकमा छरिएका काफलहरूले समाजलाई गम्भीर प्रश्न सोधिरहेका थिए— “के नियम लागू गर्ने नाममा मानवीय संवेदना हराउनै पर्ने हो ?”
सडक किनारमा उभिएका मानिसहरू केही क्षण स्तब्ध भए । कसैले मोबाइल निकालेर तस्वीर खिचे, कसैले सहानुभूति प्रकट गरे । तर ती महिलाको मनभित्र उठेको पीडा कसैले मापन गर्न सकेन ।
गरिबका सपना प्रायः साना हुन्छन्—दुई छाक खाना, छोराछोरीको पढाइ, बिरामी पर्दा औषधि । तर ती साना सपनाहरू पनि कहिलेकाहीँ राज्यका कठोर बुटमुनि यसरी कुल्चिन्छन् कि मानवता आफैं लज्जित हुन्छ ।
विरेन्द्रनगररको सडकमा पोखिएका ती काफल आज केवल फल होइनन्, ती हाम्रो समाजको संवेदनहीनताको प्रतीक बनेका छन् । के ति काला चस्माले न्यायअन्या छुट्टाई हेर्ला त ? आशा गरौं उज्योलो देखोस् ।

