काठमाडौँ । ताइवान प्रकरणमा अमेरिकाले यूटर्न लिएको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि अमेरिकाको यस्तो स्थिति देखिएको हो ।
बिबिसीका अनुसार ट्रम्पले ताइवानको विषयलाई ‘अत्यन्त संवेदनशील भन्दै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएका हुन् ।
बेइजिङबाट फर्किएलगत्तै ट्रम्पले ताइवानबारे अमेरिकाको अहिलेसम्मको अडान विपरीत अभिव्यक्ति दिएपछि संसारभर तरङ्ग उत्पन्न भएको छ ।
ट्रम्प र सीबिच भएको शिखर बैठकमा व्यापार, प्रविधि, सुरक्षा र ताइवानको मुद्दा प्रमुख एजेन्डामा रहेको थियो । सीले ताइवाबारे कुनै हस्तक्षेप नगर्न र ताइवान विषयमा कुरै नगर्न ट्रम्पलाई चेतावनी दिएका थिए ।
भेटपछि ट्रम्पले पत्रकारसँग कुरा गर्दै ताइवानले औपचारिक स्वतन्त्रताको घोषणा नगर्नुपर्ने सङ्केत दिएका हुन् । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र कुनै पनि स्वतन्त्रताको प्रयासलाई ‘रेडलाइन’ बताउँदै आएको छ ।
बेइजिङले आवश्यक परे बलप्रयोग गरेर पनि ताइवानलाई नियन्त्रणमा ल्याउने चेतावनी पटकपटक दिँदै आएको छ । ट्रम्पको अभिव्यक्तिले ताइवानमा राजनीतिक र सुरक्षा चासो बढाएको बिबिसीले जनाएको छ ।
विश्लेषकका अनुसार अमेरिकाले लामो समयदेखि ताइवानलाई सैन्य र राजनीतिक समर्थन गर्दै आए पनि ट्रम्पको पछिल्लो टिप्पणीलाई चीनसँग सम्बन्ध सुधारको सङ्केतका रूपमा हेरिएको छ । (एजेन्सी)