वासिङटन । लेबनानमा जारी इजरायली आक्रमणको बिचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङटनमा सम्पन्न भएको शान्तिवार्ता फलदायी भएको बताउँदै आगामी जुन २–३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिनुभयो ।
यसैबिच, मे २९ मा पेन्टागनमा सुरक्षा ट्र्याक सुरु हुने र यसमा इजरायल र लेबनानका दुवै अधिकारी उपस्थित हुने जनाइएको छ ।
छलफलले दुई देशबिच स्थायी शान्तिलाई अगाडि बढाउने, एकअर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पूर्ण मान्यता दिने र उनीहरूको साझा सीमामा वास्तविक सुरक्षा स्थापना गर्ने पिगटलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
इजरायलले शुक्रबार दक्षिण लेबनानमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएपछि युद्वविराम प्रयास गरिएको लेबनानको सरकारी मिडियालाई उद्धृत गर्दै अलजजिराले रिपोर्ट गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि इजरायलले गरेको आक्रमणमा दुई हजार नौ सय ५१ जनाको मृत्यु भएको छ । यद्यपि जारी शान्तिवार्ताको बिचमा हेजबुल्लाहले बुधबार दक्षिणी लेबनानमा इजरायली सैन्य केन्द्र सवारीसाधनलाई लक्षित गरी १७ ओटा अपरेसन गरेको इरानी मिडियाले जनाएको छ ।
अपरेसनमा आठओटा ड्रोन आक्रमण, पाँचओटा क्षेप्यास्त्र वा रकेट आक्रमण, एउटा तोपखाना आक्रमण र एउटा निर्देशित क्षेप्यास्त्र प्रक्षेपण समावेश रहेको मिडियाले जनाएको छ ।
यसैबिच इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत केही समयअघि दक्षिणी लेबनानमा आइडिएफ सैनिक क्षेत्रमा पहिचान गरिएको हवाई लक्ष्यतर्फ इन्टरसेप्टर प्रक्षेपण गरिएको जनाएको छ । (रासस/एएनआई)