अबुजा (नाइजेरिया) । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतङ्कवादीले दर्जनौँ स्कुले बच्चालाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ ।
नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालयबाट ३५ देखि ४३ जना विद्यार्थी अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा क्षेत्रका बासिन्दाले अनुमान गरेका छन् ।
नाइजेरियाली सेनाले सहर छोडेको केही समयपछि यो घटना भएको उनीहरूले उल्लेख गरेका छन् ।
सेनाले उक्त सहर छोडेको आधा घण्टाभन्दा कम समयमा मोटरसाइकलमा यस सहरमा आइपुगेका आतङ्ककारीले र प्राथमिक विद्यालय र शिशु स्याहारका बच्चाको अपहरण गरेको बासिन्दाले बताएका छन् ।
अफ्रिकाको सबै भन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियाले विगत १७ वर्ष देखि सशस्त्र सङ्गठनसँग लडिरहेको छ । यी समूहले बारम्बार अपहरण, आक्रमणलगायतका आतङ्कवादी क्रियाकलापको माध्यामबाट स्थानीयवासीलाई दु:ख दिने गरेको जनाइएको छ । (रासस/क्युएनए)